काठमाडौं – प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो । यसको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो नेपाल आजमा सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो ।
गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए । पुडासैनीको सोही भिडियो वयानका आधारमा प्रहरीले न्युज २४ टेलिभिजनमा सीधा कुरा जनतासँग कार्यक्रम सञ्चालक रवि लामिछाने र सोही कार्यक्रममा कार्यरत युवराज कँडेललाई समातेको हो । लामिछाने, कँडेल र कार्की आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका हुन् ।
साउन २२ गते दिउँसो ३ः ३० बजे होटलको २०२ नम्बर कोठामा गएका उनलाई होटलवालाले राति खान खान बोलाउँदा चुकुल नखोलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी मृत भेटिएका थिए ।रवि लामिछानेलाई पक्राउ गर्नुअघि प्रहरीले पुडासैनीको भिडियो प्रहरी प्रधान कार्यालयमा मगाएर परीक्षण गरेको थियो ।
यसैवीच प्रहरीले रवि लामिछानेलाई पक्राउ गर्नुपूर्व विहीबार अपरान्ह एक अस्पतालमा कार्यरत नर्स ओखलढुंगा घर भएकी रुकु भनिने अस्मिता कार्कीलाई कलंकीबाट नियन्त्रणमा लिएको छ । ती नर्सलाई पक्राउ गरिएको नभएर ‘संरक्षण’ गरिएको प्रहरीको भनाइ छ । प्रहरीले नियन्त्रणमा लिनुपूर्व अस्मिताले न्युज २४ लाई अन्तरवार्ता दिन लागेकी थिइन् । एक प्रहरी अधिकृतले भने, ‘अनुसन्धानलाई प्रभाव पार्ने र आफ्नो पक्षमा जनमत सिर्जना गर्ने गरी ती युवतीसँग अन्तरवार्ता लिन खोजेपछि उनलाई संरक्षणमा राखिएको हो ।’
लामिछानेसहित ३ जनाविरुद्ध लागेको आत्महत्यामा दुरुत्साहन दिएको कसूर प्रमाणित भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ । गत वर्ष १ भदौदेखि जारी मुलुकी अपराध संहितामा यो कानूनी व्यवस्था छ ।