Tuesday 10th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

फोनमा २ मिनेट बोल्न २ घण्टाको लाइन

Wednesday, August 14, 2019 National Power

कश्मीर – कश्मीरमा फोनमा केवल दुई मिनेट कुरा गर्नको लागि मानिसहरु झण्डै दुई घण्टासम्म लाइनमा बसिरहेका छन् । यहाँको उपायुक्त कार्यालयको बाहिर लाइनमा लागेको कैंयौ कश्मीरीहरु यही अवस्थासँग गुज्रिरहेका छन् । कश्मीरका बासिन्दाहरु कश्मीर बाहिर रहेका आफ्ना परिवारका सदस्यहरुसँग कुरा गर्नको लागि निकै उत्सुकताका साथ लाइनमा उभिएको देख्न सकिन्थ्यो । हतार–हतार सबै कुरा भन्न खोजिरहेका कश्मीरीका लागि दुई मिनेट समय निकै कमजस्तै देखिन्थ्यो ।

जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा दिने धारा ३७० को प्रावधानलाई खारेज गर्ने र राज्यलाई दुई केन्द्रशासित प्रदेश–जम्मू कश्मीर र लद्दाखमा विभाजित गर्ने केन्द्र सरकारको घोषणापछि गएको ५ अगष्टदेखि कश्मीरमा सञ्चार सेवा बन्द छ । केबल नेटवर्कको समाचार च्यानल पनि बन्द गरिएको छ । फोन र इन्टरनेट सेवा बन्द गरिएको एक हप्ताबढी बितिसक्दा कश्मीरवासीहरुमा निराशा बढ्दै गैरहेको छ ।

उपायुक्त कार्यालयमा सर्वसाधारणका लागि सरकारले प्रदान गरेको फोन लाइनमा कुरा गर्न मारुफा भटले दुई घण्टा कुरिन् र दिल्लीमा रहेकी आफ्नी बहिनीसँग कुरा गर्न सकिन् । उनले फोनमा भनिन्, ‘हेलो, के तिमी ठिक छौ ?’ यति भनिसकेपछि उनी डाँको छोडेर रुन लागिन् ।

एक वर्षको छोरो काखमा लिएकी मारुफाले भनिन्, ‘भर्खर मात्रै मेरो बुवाको दिल्लीमा हर्ट बाइपास सर्जरी गरिएको छ । हामी केही दिनअघि मात्र फर्किएका हौँ र औषधि पनि सकिने क्रममा छ । यही कारण मैले दिल्लीमा रहेकी आफ्नी बहिनीलाई सम्पर्क गर्नु परेको हो ।’

परिवारमा कसैको निधन हुनु, कारोबार, लेन–देन, परीक्षा…लगायत फोन गर्नुपर्ने निकै कारणहरु रहेका छन् । मोहम्मद अशरफ आफ्ना छोरा हमससँग कुरा गर्दैगर्दा रुन पुगे । हमसका हजुरबुवाको पाँच दिन अघि निधन भएको थियो र अशरफले मंगलबार मात्र यो खबर छोरासम्म पुर्‍याउन सके ।

मारुफा र अशरफजस्ता कैंयौ कश्मीरवासीको यस्तै गुनासो सुन्न सकिन्थ्यो । सुरक्षा अधिकारीहरुका अनुसार सुरक्षाका कारण सञ्चार र सम्पर्क बन्द गर्न परेको हो । एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘हर किसिमको अफवाह फैलाउन र घटनालाई गलत ढंगले व्याख्या गर्न सञ्चार सेवाको प्रयोग गर्ने गरिएको छ ।’ परीक्षा फर्म भर्नको लागि चण्डीगढमा आफ्ना नातेदारसँग कुरा गर्न खोजिरहेका अरसलान वानीले भने, ‘मलाई मेरो फोन बजेको सपना आउँछ ।’