Tuesday 22nd October 2019

    ‘बीच्च बीच्चमा’ गायक दुर्गेश थापालाई प्रहरीले बोलायो    मेरो रगत रगतमा अभिनय जागेको छ ; कलाकार केदार न्यौपाने    महाराजगञ्जमा प्रहरीको सर्च अपरेसन, ३२ जना पक्राउ    ‘बाहुबली’ रिलिज हुँदा मरेँ भन्ने लागेको थियोः प्रभाष    एनआरएनएको नयाँ कार्यसमितिमा कोको भए निर्वाचित ?

नेपाल अण्डर १९ एशिया कपका लागि छनोट

Tuesday, July 9, 2019 National Power


काठमाडौं – नेपाल एशिया कपका लागि छनोट भएको छ । एसीसी यु(१९ इस्टर्न रिजनको उपाधि जित्दै नेपाल अर्को महिना श्रीलंकामा हुने अण्डर १९ एशिया कपका लागि छनोट भएको हो । आज भएको फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल एशिया कपमा छनोट हुन सफल भएको हो । हङकङले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले १६‍‍।१ ओभरमै ४ विकेटको क्षतिमा भेट्टाएको हो ।

नेपालका लागि पवन सर्राफले सर्वाधिक ३९ रन बनाए । ३६ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । रित गौतमले १३, रोहित कुमार पौडेलले १२, खडक बहादुर बोहराले ८, भीम सार्कीले ८ रन बनाए ।

यसअघि मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ४३।१ ओभरमा ९५ रनमै रोकेको थियो । हङकङलाई सस्तैमा समेट्न नेपालका लागि सागर ढकालले घातक बलिङ गरे । उनले १० ओभरमा मात्रै १८ रन दिँदै ५ विकेट लिए । उनले १० ओभरमध्ये ५ ओभर मेडन फालेका थिए । यस्तै कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राजभण्डारीले १–१ विकेट लिए ।

हङकङका लागि कप्तान अदित गोरावाराले सर्वाधिक २४ रन बनाए । कल्हान मार्क चल्लुले १९ र रौनक कपूरले १२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यससँगै नेपाल २८ अगष्टदेखि ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने अण्डर १९ एशिया कप खेल्नका लागि छनोट भएको छ ।

एशिया कपका लागि नेपाल छनोट भएसँगै यसका प्रतिस्पर्धी टिमहरु पूरा भएका छन् । नेपालले एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएइ र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।