Monday 19th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

रसुवागढीको सुरुङबाट १७ जनाको उद्धार, सबै सकुशल

Friday, June 21, 2019 National Power

काठमाडौं – निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ । शुक्रबार बिहान ७ बजे ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको डिएसपी भागेन्द्र प्रसाद ढकालले जानकारी दिए ।

बिहीबार राति साढे ८ बजेतिर गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र सुख्खा पहिरो खस्दा १७ जना कामदार थुनिएका थिए । सुरुङको एक सय मिटरभित्र काम गरिरहेको बेला थुनिएका उनीहरुलाई उद्धार गर्न रातिदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली परिचालित थिए ।

‘सबै १७ जनालाई बिहान ७ बजे सकुशल उद्धार गरिएको छ । उहाँहरु खतरामुक्त भएकाले आत्तिनुपर्ने अवस्था केही पनि छैन,’ डिएसपी ढकालले – भने, ‘माथिबाट सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले माथि हेर्दै, बाहिर निकाल्दै गरियो ।’

सुरुङ क्षेत्रमा सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले जोखिम कायमै रहेको प्रहरीले जनाएको छ । त्यसैले अहिले आयोजनाको काम रोकिएको छ । केही उपकरणहरु सुरुङभित्रै थुनिएका छन् । तर, भौतिक क्षतिको विस्तृत विवरण भने आइसकेको छैन । अडिट-४ टनेलभित्र कामदारहरु थुनिएको जानकारी पाएको १० मिनेटभित्रै खोज तथा उद्धारका लागि नेपाली सेनाको एक सेक्सन, सशस्त्र प्रहरीको २० जनाको टोली, जनपद प्रहरी ७ जना गरी ३८ जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो ।