Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

पानी अभावले चेन्नाईका होटल-रेष्टुराँ बन्द

Wednesday, June 19, 2019 National Power

काठमाडौं – भारतमा जनसंख्याको हिसाबले छैठौं ठूलो शहर चेन्नाईमा पानीको चरम अभाव भएको छ । पानी अभावका कारण रेष्टुराँहरु बन्द गरिएको छ । रेलवे स्टेशनलाई वातानुकुलित बनाउन छाडिएको छ । कतिपय कार्यालयहरुले आफ्ना कर्मचारीहरुलाई घरमै बसेर काम गर्न भनेका छन् ।

सरकारी अधिकारीहरुले भनेका छन्- पानीका स्रोतहरु सबै सुकेका छन् । अब वर्षाले मात्र चेन्नाईलाई जोगाउन सक्छ । चेन्नाईका सबै क्षेत्रमा पानीको अभाव भएपछि अहिले जमिन मुनिबाट पानी निकाल्न नयाँ-नयाँ ठाउँको खोजी भइरहेको छ । नयाँ बोरवेल खन्ने काम भइरहेको छ र भएका बोरवेललाई अझै गहिरो खनिँदै छ । एक सर्वेका अनुसार चेन्नाईमा हरेक महिना २०(३० वटा बोरवेल खनिन्छ । अहिले दुई महिनाको अवधिमा ४० वटा बोरवेल गाडिसकिएको छ ।

चेन्नाईका चार वटा प्राकृतिक तलाउ सुकेका छन् । ताल सुकेपछि मई महिनाको पहिलो हप्तामै चेन्नाई मेट्रो वाटरले शोलावरम र सेंगुदरम तालबाट पानी ल्याउन बन्द गरेका थिए । मे महिनाको मध्यतिर पुन्दी तालबाट पनि पानी ल्याउन रोकिएको थियो । त्यसपछि चेन्नाई मेट्रो वाटरका कर्मचारीहरुले प्युरीफाई गरिएको पानी चेन्नाईको बाहिरी इलाकाबाट ल्याउन सुरु गरे । केही पानी तमिलनाडुका सिक्किरायपुरम र इरुमैयुरबाट पनि ल्याउने गरिएको छ ।

१५० लाख लिटर पानी विरानम तालबाट निकाल्ने गरिएको छ । विरानम ताल तमिलनाडुको सबैभन्दा ठूलो पानीको स्रोत हो । चेन्नाई जल विभागका अधिकारीहरु भन्छन्- हामीले अहिले केही स्रोतहरु पत्ता लगाउन कोसिस गरिरहेका छौं । अब केबल वर्षाले नै चेन्नाईको यो परिस्थितिलाई जोगाउन सक्छ । कतिपय स्थानमा ट्यांकरबाट पानी वितरण हुँदै आएको छ । मानिसहरु पानी लिन घण्टौंसम्म लाइनमा बस्न बाध्य छन् । कतिपय ठाउँमा पानी थाप्ने क्रममा झडप पनि हुने गरेको छ । झडपमा चक्कु प्रहार हुँदा एक जनाको ज्यान गएको छ भने प्रहरीले केहीलाई पक्राउ गरेको छ ।

पानीको अभावले चेन्नाईको स्थिति एकदमै धेरै बिग्रिएको छ र यो अवस्था अझै धेरै बिग्रिने चेतावनी अधिकारीहरुले दिएका छन् । होटल र रेष्टुराँहरु पानीकै कारण बन्द भएका छन् । चेन्नाई मेट्रोमा एसी चलाउन बन्द गरिएको छ । धेरै आईटी कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई कार्यालयमा नआउन र घरमै बसेर काम गर्न भनेका छन् ।

आईटी वर्क्स एसोसिएशनका जनरल सेक्रेटरी विनोद कलिगईले भनेका छन्, ‘आईटी फर्महरुले औपचारिक रुपमा घोषणा त गरिसकेका छैनन् । कर्मचारीहरुलाई जति सकिन्छ त्यति घरमै बसेर काम गर्न भनिएको छ । तर घरमा पनि पानी त चाहिन्छ नै । अब हामी के गरौं ? चेन्नाईमा मात्र होइन, अप्रिल र मई महिनामा तमिलनाडुका धेरै जिल्लामा पनि भूजलको स्तर घटेको छ । एक तथ्यांकअनुसार तिरुवान्नामलईमा ०।८७ मिटरसम्म पानी घटेको छ ।

मानिसहरु चेन्नाइ जल विभागले ट्यांकरमार्फत् वितरण गर्ने पानीमा निर्भर छन् । उनीहरुले ट्यांकरको पानी किन्नुपर्छ । पानी चाहियो भने पहिले नै नाम टिपाउनुपर्छ र कम्तीमा २० दिनसम्म पर्खिनुपर्छ । एक अधिकारीले भनेका छन्, ‘यो त बर्बादी सुरुवात मात्र हो । यदि यस वर्ष राम्रो वर्षा भएन भने हामी त समाप्त हुन्छौं ।’

पानीको पुनः प्रयोग

पानीको लागि काम गर्दै आएका एक सामाजिक कार्यकर्ता नक्कीरनका अनुसार पानीको समस्या समाधानको एकमात्र उपाय भनेको जमिनमा जलस्तर बढाउनु हो । उनले भनेका छन्, ‘यसअघि पनि हामी चेन्नाईबासीले खडेरीको सामना गरेका हौं । त्यतिबेला पनि जमिन मुनिको पानीले बचाएको थियो । वर्षाको पानी कम्तिमा १६ प्रतिशत जमिनभित्र जानुपर्छ । तर चेन्नाई जस्तो ठूलो शहरमा ५ प्रतिशत पानी मात्र जमिन मुनि जान्छ । यो अवस्थालाई बदल्नैपर्छ ।’

पानी वितरण विभागका अधिकारीहरुका अनुसार अब एक पटक प्रयोग भइसकेको पानीको पुनः प्रयोग अति आवश्यक भइसकेको छ । गत मई ३० तारिखमा ‘ग्रे वाटर प्युरिफकेसन प्रोजेक्ट’ चेन्नाईमा लागू गर्न सहमति दिइएको छ । यस प्रोजेक्टअन्तर्गत मेसिन जडानको काम पनि सुरु भइसकेको छ । तर, यो सन् २०२० को जनवरीभन्दा अगाडि प्रयोगमा आउँदैन । यदि यो प्रोजेक्ट सफल भएमा चेन्नाईमा ७० प्रतिशत पानी पुनः प्रयोग गर्न सकिन्छ ।

–बीबीसीबाट