Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

उपचार खर्च अभावमा मृत्यू कुर्दै गुरुङ

Thursday, June 13, 2019 National Power

पोखरा – सासै फेर्न गाह्रो छ । त्यसैले नाकमा २४ सै घन्टा अक्सिनको नली जोडिरहनुपर्छ । दिसापिसाब तर्काउन चर्पी जाँदा पनि झन्झट छ । खाना खाँदा पनि सास्ती । ३ वर्षदेखि ६६ वर्षीय गोपीचन्द्र गुरुङ यस्तै अप्ठेरोमा छन् । उनलाई फोक्सोको रोग लागेको ३ वर्ष भयो । घर कास्की मादीको पाखुरीकोट हो ।

पाखुरीकोट तमु समाज घरमा गोपीचन्द्रले आश्रय लिइरहेका छन् । श्रीमती तीर्थकुमारी, छोरीहरु ११ वर्षकी प्रिया र ७ वर्षकी अमृता पनि गोपीचन्द्रको हेरचाह र स्याहारसुसारमा खटिएका छन् । गोपीचन्द्रसँग परिवारको माया छ तर उपचार खर्च छैन । बलवैस हुँदा गोपीचन्द्रले नेपाल प्रहरी भएर देशसेवामा बिताए । सोझोसिधा भएर सेवा गरिरहँदा हातमुख जोर्न धौधौ प¥यो । ११ वर्षमै प्रहरी सेवा छाडेर मुगलान भासिए । भारतका विभिन्न ठाउँमा १० वर्ष गुजारे । फर्किएर बाउबाजेले गर्दै आएको पण्डित (पैंडी) को काम गरेका थिए । तर कसरी कसरी उनलाई फोक्सोको रोगले समात्यो । गाउँमा अरु बिरामी पर्दा, कसैकहाँ मर्दापर्दा गोपीचन्द्र पुग्थें । झाँक्री बनेर उपचार गर्न होस् या पैतृक कार्य अर्घौंमा उनी सामेल हुन्थे ।

तर आज आफैं बिरामी परेर थलिनुपरेको छ । भन्छन्, ‘फोक्सै फेर्न ३३ लाख रुपैयाँ लाग्दो रैछ, तर आफूसँग १ कौडी छैन ।’ ३ वर्षयता छिमेकी, इष्टमित्र र समाजका सदस्यले गरेको सहयोगले नै उनी बाँचिरहेका छन् । ८ सय ५० को सिलिन्डर अक्सिजनले बढीमा ६ दिन पुग्छ । औषधी खर्च पनि उत्तिकै छ । घर व्यवहार चलाउन हम्मेहम्मे छ । फोक्सो ट्रान्सप्लान्ट गर्न सके २ छोरीहरुलाई उज्ज्वल जीवन दिन सक्छु कि भन्ने उनको याचना छ ।