Saturday 14th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

चलचित्र कलाकार संघमा रविन्द्रको पुनरागमन

Sunday, June 9, 2019 National Power

काठमाडौं – नेपाल चलचित्र कलाकार संघमा रविन्द्र खड्का भारि मतले अध्यक्षमा निर्वाचित भएका छन् । संघमा पहिला पनि अध्यक्ष भइसकेका खड्काको पुनरागमन भएको छ । संघमा खड्काको प्यानलबाट उम्मेदवारी दिने उपाध्यक्षका उम्मेदवार विनोद कुमार भट्टराईबाहेक सबै विजयी भएका छन् । खड्काले आफ्नो प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मत अन्तरले हराएका हुन् । खड्काको पक्षमा २१८ र लामिछानेलाई १६१ मत झरेको थियो ।

उपाध्यक्षमा अभिनेत्री रेजिना उप्रेतीले २४३ मत ल्याउँदै विजयी हासिल गरिन् भने अर्का उपाध्यक्षका उम्मेदवार सानु कुमार ताम्राकारले १७५ मत ल्याई विजयी भए । उपाध्यक्ष उम्मेदवारहरु मनोज केसी र विनोद भट्टराईले क्रमशः १४२ र ९६ मत पाएपनि हार बेहोरे । महासचिवमा चेत बहादुर सिंहले १८७ मत ल्याएर विजयी बने भने प्रतिद्वन्दी सञ्जय खतिवडालाई १५६ मत प्राप्त भयो ।

यस्तै, सचिवमा पनाह अधिकारीले १९४ मत ल्याएर विजयी भइन् । प्रतिद्वन्दी कविता गेलाल १६९ मत ल्यापनि २५ मतान्तरले पराजित हुनु पुगिन् । अध्यक्षमा निर्वाचित भएका खड्का प्यानलका सुनिल कटुवाल कोषाध्यक्षमा निर्विरोध चयन भइसकेका छन् । यस्तै, सह–कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्यले २२० मत ल्याएर जित हासिल गरिन् । उनका प्रतिस्पर्धी डि।बि बम्जनले १३३ मत मात्रै पाएका थिए । शनिबार भएको कलाकार संघको निर्वाचनमा ३८७ जना कलाकारले मतदान गरेका थिए ।

त्यस्तै, १० जना निर्वाचित सदस्यमा शितल केसीले सर्वाधिक मत ल्याएका छन् । अन्य ९ सदस्यतर्फ जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडाले विजयी हासिल गरे ।
अध्यक्षमा निर्वाचित भएपश्चात तीन वर्षे कार्यकालको नेतृत्व गर्ने जिम्मेवारी पाएका खड्काले कलाकार संघलाई कलाकारहरुको साझा संस्थाको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले भने– ‘तीन वर्षको कार्यकालमा मैले गरेका प्रतिवद्धताहरु पूरा गरेरै छाड्छु । निर्वाचित कार्यसमितिको पहिलो काम संघको भवन निर्माण गर्ने हुनेछ । यो कलाकारहरुको माग र आवश्यकता पनि हो ।’ उनले अध्यक्षमा पराजित भएकी सरितालाई पनि आफूले सम्मानका साथ संघमा राख्ने बताए ।

निर्वाचनमा पराजित भएपनि सरिताले अध्यक्षमा निर्वाचित खड्कालाई सौहार्द मनले खादा र फूलको बुके दिंदै बधाई तथा शुभकामना दिइन् । सरिताले अध्यक्षमा ग्रैह कलाकार नआएकोमा खुसी व्यक्त गर्दै रविन्द्र दाईले जित्नु भनेको सबै कलाकारहरुको जित हो र उहाँको जितले आफु दुःखी नभएको प्रतिक्रिया दिइन् ।