Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

स्वास्थ्य संस्थामा औषधि अभाव

Monday, June 3, 2019 National Power

म्याग्दी -उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्यचौकीमा जीवनजललगायत अत्यावश्यक औषधिको अभाव भएको छ । १५ दिनदेखि गाउँपालिकाका छवटै स्वास्थ्यचौकीमा जीवनजल, सिटामोललगायतका अत्यावश्यक औषधिको अभाव भएपछि जनताले सास्ती व्यहोर्न बाध्य भएका छन् । अन्नपूर्णका जनता जीवनजल र सिटामोल लिनका लागि सदरमुकाम बेनी आउनुपर्ने वाध्यतामा छन् । अन्नपूर्णमा विगत तीन महीना अघिदेखि सरकारले निःशुल्क उपलब्ध गराउने ३५ प्रकारका औषधिको समेत अभाव भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ शिख, वडा नं २ दाना, वडा नं १ दोवा, वडा नं ६ घार, वडा नं ८ राम्चे र वडा नं ७ हिस्तानका स्वास्थ्यचौकीमा जीवनजल पनि नभएको सम्बन्धित स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बताएका छन् । शिखको स्वास्थ्यचौकीमा जीवनजल लिन पुगेका एक स्थानीयलाई स्वास्थ्य चौकी इञ्चार्ज हेम पुनले जीवनजल नभएकाले तातोपानी पिउन सल्लाह दिएर फर्काएका थिए । घरमा छोरालाई पखाला लागेपछि तीनपटकसम्म स्वास्थ्यचौकीमा पुगेका स्थानीय टेकबहादुर पुर्जालाई जीवनजलसहित आवश्यक औषधिको अभावका कारण छिमेकी वडामा पुगेर ल्याउन स्वास्थ्यकर्मीले सुझाव दिएका थिए ।

गाउँमा निजी क्लिनिकसमेत नभएकाले सरकारले उपलब्ध गराउने ३५ प्रकारका औषधिसमेत सदरमुकाममा पुगेर महँगोमा खरीद गर्नुपर्ने शिखवासीको गुनासो छ । ‘गर्मीको समयमा जीवनजलको माग धेरै हुन्छ, जीवनजल पनि छैन भन्दा स्थानीय आक्रोशित हुन्छन्’, सम्बन्धित स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीको गुनासो छ । सरकारले सर्वसाधारणको हितलाई ध्यानमा राखि मुलुकका सबै सरकारी संस्थामा निःशुल्क औषधिको व्यवस्था गरेको भए पनि गाउँपालिकाको लापरवाहीका कारण अन्नपूर्णमा सहजै औषधिको व्यवस्था हुन सकेको छैन । मेट्रोनिडाजोल, एम्लोडीपीन, सालमुटामोल, रेनिटिडिन, इन्जेक्सनको अभाव हुने गरेको छ । सामान्य बिरामीलाई समेत आवश्यक पर्ने औषधि समयमै ढुवानी नहुँदा समस्या भएको अन्नपूर्ण–५ का वडाध्यक्ष दिनेशकुमार पुनले बताए ।

गाउँपालिकाले खरीद गरेको औषधि गाउँपालिकामा आउन ढिलाई गरेकाले गाउँमा औषधिको अभाव भएको गाउँपालिकाका अध्यक्ष क्या डमबहादुर पुनले बताए ।