Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

अक्षय तृतीयामा १० वर्षपछि अदभूत संयोग

Tuesday, May 7, 2019 National Power

काठमाडौं – वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । वैशाख शुक्ल तृतीयाको दिन गरिने दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले यस दिनलाई अक्षय तृतीया भनिएको हो । हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा धेरै विशेष योगहरू पर्छन् । तीमध्ये एउटा महायोग हो अक्षय तृतीया । यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । तर आज करिब एक दशकपछिकै शुभ र अदभूत संयोग बनेको छ । हिन्दु पञ्चांग र ज्योतिषाचार्यका अनुसार सूर्य, शुक्र, चन्द्र र राहु ग्रहको शुभ संयोग छ । यी ग्रहको उपस्थिति उच्च राशीमा छ । यस्तो संयोग निकै दुर्लभ र सौभाग्यशाली मानिन्छ । यसअघि सन् २००३ मा पनि यस्तै अदभूत संयोग बनेको थियो ।

ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । त्यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।

अक्षय तृतीयामा के गर्ने रु के नगर्ने ?

अक्षय तृतीयालाई जौको सातु र सर्वत खाने पर्व भनेर पनि चिनिन्छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर सक्खर हाली सर्वत बनाएर ब्राहृमणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन आगन्तुक सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । वैशाखको गर्मीमा सर्वत र सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

खाली हात घर नफर्किनुस्

अक्षय तृतीयाको दिन शुभ फल प्राप्त गर्नका लागि सुनबाट बनेको कुनै पनि बस्तु खरिद गर्नुपर्ने मान्यता छ । यदि सुन किन्ने क्षमता छैन भने आफ्नो क्षमताअनुसार धातुबाट बनेको कुनै पनि वस्तु किन्न सकिन्छ । यस दिन खाली हात घर फर्किनु शुभ मानिँदैन । त्यसैले नयाँ वस्त्र किन्ने, लगाउने गर्दा पनि शुभ हुने विश्वास गरिन्छ ।

पूजामा तुलसीको उपयोग

अक्षय तृतीयाको दिन विष्णु र लक्ष्मीको पूजाको विशेष महत्व हुन्छ । त्यसैले विष्णुको पूजामा प्रसादको रुपमा तुलसीको उपयोग गरिन्छ । प्रसाद चढाउनका लागि तुलसीको पात टिप्नुअघि नुहाइ धुवाई गरेर चोखो लुगा लगाउनुपर्ने धर्मशास्त्रका जानकारहरु बताउँछन् । अन्यथा शुभ फलको सट्टा अशुभ हुने मान्यता छ ।

विष्णु र लक्ष्मीको पूजा सँगसँगै

वैशाख शुक्ल तृतीयाकै दिन त्रेता युग शुरुआत भएको मानिन्छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाको दिन निराहार ब्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा शुभ फल प्राप्त हुने र लक्ष्मीको बास हुने धार्मिक विश्वास छ । समृद्धि र सौभाग्यको इच्छा राख्नेहरुले अक्षय तृतीयाको दिन भुलेर पनि विष्णु र लक्ष्मीको पूजा अलग(अलग गर्नु हुँदैन । किनभने विष्णु र लक्ष्मी पति(पत्नी हुन् । यस अवसरमा लक्ष्मी र विष्णुको एकसाथ पूजा गरेमा समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । अक्षय तृतीयाको दिन कसैप्रति पनि क्रोधको भावना राख्नु हुँदैन । यदि कसैप्रति वैरभाव राखेमा पनि लक्ष्मीको बास नहुने र शुभ फल नमिल्ने धार्मिक विश्वास छ ।