Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

गणतन्त्र दिवसमा हुने कार्यक्रम सार्वजनिक

Monday, May 6, 2019 National Power

काठमाडौं– सरकारले ‘गणतन्त्र दिवस–२०७६’ को कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस–२०७६ को कार्यक्रम तय गरि सार्वजनिक गरेको हो । गणतन्त्र दिवसलाई जनताको उत्सवको रुपमा मनाउने गरी सो दिवसको कार्यक्रम सार्वजनिक गरिएको प्रधानमन्त्री ओलीले बताए । उनले जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र जनताको प्रणाली भएकाले त्यसलाई जनस्तरमै मनाउने गरी तयारी गर्न पनि सम्बन्धित सबै निकायलाई सचेत समेत गराए । जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ ।

कार्यक्रम अनुसार गणतन्त्र दिवसको मुख्य दिन जेठ १५ गते काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरिनेछ । राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथि रहने सो कार्यक्रममा गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् । कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस–२०७६’ लेखिएको अंकित व्यानर प्रर्दशन गर्दै पुष्प वृष्टि गर्ने कार्यक्रम रहेको पनि गृहसचिव प्रेमकुमार राईले जानकारी दिए । त्यसैगरी कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्काउटले मार्च पास गर्ने, काठमाडौं महानगरपालिका,ललितपुर महानगरपालिका तथा काठमाडौं उपत्यकाका अन्य नगरपालिकाहरुले पनि साँस्कृतिक झाँकीहरु प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको छ । गणतन्त्र दिवसको सोही दिन साँझ दिपावली पनि गरिनेछ ।

गणतन्त्र दिवसको अघिल्लो दिन जेठ १४ गते सबै तहको सरकारले आफ्ना कार्यालयहरुमा राष्ट्रिय झण्डा र व्यानर सजाई नगरको सफाई र श्रृंगार गर्नुपर्नेछ । त्यसैगरी सोही अवसरमा आम नागरिकलाई घरघरमा सरसफाई र साँझ दिपावली गर्न अनुरोध गर्ने कार्यक्रम पनि तय गरिएको गृहसचिव राईले बताए । जेठ १६ गते सबै जिल्लाहरुमा वृक्षारोपण लगायतका कार्यक्रम आयोजना गरि गणतन्त्र दिवस मनाईने गणतन्त्र दिवस(२०७६ को कार्यक्रममा उल्लेख गरिएको छ । गृहसचिव राईले गणतन्त्र दिवसको अवसर पारेर विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासहरुमा गणतन्त्र दिवस विविध कार्यक्रमसहित जेठ १४, १५ र १६ गते तीन दिनसम्म भव्य रुपमा मनाउने र साँझ दिपावली गर्ने कार्यक्रम समेत रहेको बताए ।