Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

आज चैतेदशैं र रामनवमी, देशभरका शक्तिपीठमा भक्तजनको भीड

Saturday, April 13, 2019 National Power

काठमाडौं – हिन्दू धर्मालम्बीहरुले आज रामनवमी र चैतेदशैं पर्व मनाउँदै छन् । दशैं तथा रामनवमीको अवसरमा शनिबार बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । फरक–फरक दिनमा चैतेदशैं र रामनवमी पर्व पर्ने गरेको भए पनि यस वर्ष एकै दिन परेको पञ्चांग निर्णायक समितिले जनाएको छ । अष्टमीलाई पूर्वाह्न र नवमीलाई अपराह्नको समय लिनुपर्ने भएकाले एकैदिन दुवै पर्व परेको पञ्चांग निर्णायक समितिको भनाइ छ ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक दशैं मनाउने गर्छन् । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । बडा दशैंमा जमरा र टीका लगाउने प्रचलन भए पनि चैते दशैंमा भने टीका लगाउने प्रचलन छैन ।

वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको शास्त्रमा वर्णन गरिएको उल्लेख छ ।चैते दशैंको दिन काठमाडौंका भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी ‘रामनवमी’ पर्व मनाइन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लागेको छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ बास हुने धर्मग्रन्थमा उल्लेख छ । यसै विश्वासका आधारमा आज लाखौँ भक्तजन व्रत बसी श्रीरामचन्द्रको पूजा आराधना गर्छन् ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्मिएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेका थिए । उनले संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएको रामायणलगायत ग्रन्थमा उल्लेख छ ।