Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

भारतमा लोकसभा निर्वाचन सुरु

Thursday, April 11, 2019 National Power

आजदेखि भारतमा लोकसभा निर्वाचन सुरु भएको छ । पहिलो चरण अन्तर्गत चार राज्यको ९१ लोकसभा सिटका लागि निर्वाचन सुरु भएको हो । पहिलो चरणमा आन्ध्र प्रदेश, अरुणाञ्चल,मेघालय र उत्तराखण्डमा निर्वाचन हुँदैछ ।

नेपाली समयअनुसार चैत २८ देखि सुरु भएको यो निर्वाचन जेठ ५ गतेसम्म ९अप्रिल ११ मे २३० ७ चरणमा सम्पन्न हुँदैछ । यो निर्वाचनमा ९० करोड भारतीय मतदाताहरुको सहभागिता हुँदैछ । निर्वाचनमा त्यहाँका राजनीतिक पार्टीहरुबीच निकै कडा प्रतिस्पर्धा हुँदैछ । विशेषगरी सत्तारुढ दल भाजपा र काँग्रेस आईबीच निकै कडा र चूनौतीपूर्ण प्रतिस्पर्धा हुुँदैछ । ती दुई पार्टीका शीर्ष नेताहरुबीच निर्वाचन अभियान सुरु भएदेखिनै निकै गम्भीर खालको वाक युद्धनै सुरु भएको छ । भारतीय जनता पार्टीको शीर्ष नेतृत्वले कँग्रेस आईलाई परिवारवादमा फसेको र परम्परावादी पार्टीको आरोप लगाइरहेको छ भने काँग्रेस आईले प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भाजपाका अध्यक्ष अमित शाहमाथि निकै क्रुर र बेजोड व्यंग्य प्रहार गरिरहेका छन् ।

भारतीय काँग्रेसको नेतृत्वमा विशेषगरी अहिले राहुल गान्धीको चर्को प्रभाव छ भने उनकी बहिनी प्रियंका गान्धी पनि अहिलेको निर्वाचनमा आकर्षणको पात्र बनेकी छिन् । सो पार्टीले सरकार बनाउने स्थिति आएमा गान्धीसहित मायावती र ममता बनर्जीलाई उम्मेद्वार बनाउने तयारी गरेको छ भने भाजपामा मोदीनै आउन सक्ने आँकलन गरिँदैछ । गान्धीसँग प्रधानमन्त्री मोदीको टक्कर निकै बढेको छ । प्रधानमन्त्री मोदीले निर्वाचन अभियानका क्रममा दिएका अभिव्यक्तिहरुको विपक्षी दल समेत रहेको काँग्रेसका नेताहरुले खिल्ली उडाइरहेका छन् । भारत–पाकबीच बढेको तनाव र त्यसमा पाकिस्तानी प्रधानमन्त्रीले अप्नाएको लचकताले मोदीको शाख गिरेको भन्दै काँग्रेसले चुनाव प्रचारको मसला बनाउन सफल भएको छ ।

चुनाव प्रचारका क्रममा प्रधानमन्त्री मोदीले आफू देशको चौकीदार रहेको अभिव्यक्ति दिएपछि, त्यसले भारतीय लोकसभा निर्वाचनको माहोललाई थप तताएको छ । उनको यो अभिव्यक्तिलाई राष्ट्रवादसँग जोडेर हेरिएपनि काँग्रेस नेतृत्वले व्यंग्य गर्न छाडेको छैन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले देखाएको लचकताले मोदीको राष्ट्रवाद फिक्का भएको बहस भैरहेको छ । त्यस्तै भारतीय जनता पार्टीको नेतृत्वले पनि कँग्रेस पार्टीलाई नेहरु–गान्धी परिवारले परम्परावादी (पारिवारिक) ढंगले चलाएको र त्यसरी चलेको पार्टीले राष्ट्र हितको पक्षमा काम गर्न नसक्ने आरोप लगाउँदै आएका छन् । क्षेत्रीय स्तरका पार्टीहरुसँगको प्रतिस्पर्धा र एलाइन्स पनि निकै पेचिलो ढंगले भैरहेको छ ।

सन् २०१४ को निर्वाचनमा कमजोर देखिएका स्थानमा भाजपाले केही सुधार गरेको देखिएको छ । युपिमा भने २० स्थानभन्दा बढी ठाउँमा भाजपाले नोक्सान बेहोर्न सक्ने भारतीय सञ्चारमाध्यामहरुले दाबी गरिरहेका छन् । यद्यपि, मोदी नेतृत्वको सरकारले किसानका मुद्धाहरुमा चासो नदिएको भन्दै भएका आन्दोलनहरु र बिहारबाट चुनाव लड्दै गरेका कन्यैहाकुमारको अभियान सत्तारुढ दल भाजपाका लागि निकै ठूलो चुनौती बनेको छ । जेएनयुका छात्र कन्हैयालाई केजरीवालदेखि प्रधानमन्त्री मोदीको गृहप्रदेश गुजरातका केही नेताहरु समेत विजयको शुभकामना दिइरहेका छन् । सत्तारुढ दल भाजपा, काँग्रेस आइ, अन्य क्षेत्रीय पार्टी र वामपन्थी पार्टीहरुसँगको टक्कर पनि निकै पेचिलो देखिन्छ । भाजपा र काँग्रेसको दाँजोमा कमजोर देखिएका वामपन्थी पार्टीहरुले पनि केही निर्वाचन क्षेत्रमा प्रभाव पार्ने देखिन्छ तर उनीहरुको स्थिति के हुन्छ भन्ने अहिले नै आँकलन गर्न सक्ने अवस्था छैन ।

टाइम्स नाउ र बिएमआरको मत सर्वेक्षण अनुसार ५४३ सिटमध्ये एनडिए को पक्षमा २७९, काँग्रेस आइको नेतृत्वमा रहेको एलायन्स पक्षमा १४९ र अन्य दलहरुको पक्षमा ११५ सिट आउने आँकलन गरिएको छ । एनडिएको नेतृत्वको वर्तमान सरकारविरुद्ध असन्तुष्टीहरु देखिएपनि प्रधानमन्त्री मोदीले अघि सारेको राष्ट्रवादको नारा, उनको चौतर्फी प्रभाव र भाजपा अध्यक्ष अमित शाहको नेतृत्व यसमा हावी भएको आँकलन गरिदैछ ।

भाजपा र काँग्रेसले अघि सारेको विदेश नीतिमा समेत टक्कर देखिन थालेको छ । छिमेकीहरुलाई हेर्ने दृष्टिकोणमा दुवै पार्टीको समान मत देखिएपनि सार्क र विमस्टेकलाई हेर्ने दृष्टिकोणमा भाजपा र काँग्रेसको भिन्न दृष्टिकोण देखिएको छ । भाजपाले आफ्नो घोषणापत्रमा सार्कको नामै लिएको छैन भने काँग्रेस आइले विमस्टेकलाई इन्कार गरेको देखिन्छ । दुवै पार्टीबीच दक्षिण एसिया, विशेषगरी छिमेकी मुलुकहरुलाई हेर्ने नीतिमा समेत विभिन्नता देखिएपछि यसको प्रभाव निर्वाचनमा समेत पर्ने आँकलन गरिँदैछ । यद्यपि, मत सर्वेक्षणहरुले भने काँग्रेस आइको दाँजोमा सत्तारुढ दल भाजपानै अघि देखिएको छ ।

त्यसैले निर्वाचनमा कुन पार्टीको प्रभाव कुन प्रदेशमा कति छ र कसको पल्लाभारी होला भन्ने बहस अहिले भारत मात्र होइन, दक्षिण एसिया र विश्वभर भैरहेका छन् ।