Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

होलीमा उच्छृङखल कार्य गरे कारवाही हुन्छ : प्रहरी

Tuesday, March 19, 2019 National Power

काठमाडौँ – काठमाडौँ उपत्यकामा विगत तीन दिनदेखि नै हरेक प्रहरी इकाइमार्फत समुदायसँग मिलेर प्रचारप्रसार अभियान चलाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी र समुदायले संयुक्त अभियानमार्फत प्रचारात्मक ¥यालीसहित माइकिङ, मोबाइलगस्ती गरेर सचेतना जगाइएको छ । तर उच्छृङखल देखियो भने कारवाही हुने उनले चेतावनी दिए ।

यो वर्ष काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा चैत ६ गते र तराईमा चैत ७ गते होली मनाइन्छ । भित्री मधेशका कतिपय जिल्लामा भने होली दुबै दिन मनाउने गरिन्छ । रङ दलेर होली एक आपसमा भाइचाराका साथ खुशी मनाउँदै सद्भाव साटासाट गर्ने पर्व हो । तर पछिल्लो समयमा बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी छ्याप्ने, जबरर्जस्ती रङ दल्नेलगायत उच्छृङ्खल गतिविधि देखिने गरेको छ । यस्ता विकृतिले कतिपयको लडेर त कतिपयको आपसी विवादका कारण मृत्यु नै भएका घटना छन् ।

अहिले जिल्ला प्रहरी कार्यालयलाई पनि घटना भएपछि पक्राउ गर्नुभन्दा घटना हुन नदिनका लागि विभिन्न कार्यक्रम गरी सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले घटना हुन नदिन शुरुमै प्रचारात्मक कार्यक्रममार्फत सचेत बनाउँदै संस्कृति र परम्परा अनुसार होली खेल्न अनुरोध गरिएको छ । पर्वका दिन कुनै उच्छुङ्खलता देखियो भने पक्राउ गरी कारवाही गरिने बताए ।

होलीको दिन बुधबार सादा पोशाकमा दुई हजार सुरक्षाकर्मी परिचालन गरिने छ । काठमाडौँको बसन्तपुर, हुँडिखेल, सामाखुसी, टोखा, महाराजगञ्जलगायत १८ स्थानमा होली कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट विभिन्न सङ्घ संस्थाले अनुमति लिएका छन् ।

सो क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको जानकारी दिँदै परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक बोगटीले इच्छा विपरीत होली दल्ने, लोला हान्ने, पानी खन्याउने, अमर्यादित गतिविधि गरेको पाइएमा अभद्र व्यवहार अन्तर्गत कानूनी कारवाही हुने उल्लेख गरे ।
यसपटक काठमार्डौँमा मात्रै १०७ स्थानमा चेक प्वाइन्ट राखेर होलीलाई शान्तिपूर्ण बनाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

हिरण्यकश्यप नामक राक्षसले भगवान् विष्णुका भक्त रहेका आफ्नै छोरा प्रल्हादलाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र होलिकाले प्रल्हादलाई काखमा लिएर अग्निमा प्रवेश गर्दा होलिका जलेको तर प्रल्हादलाई केही नभएको किम्बदन्तीअनुसार त्यसैको खुशियालीमा एकआपसमा रङ दलेर होली मनाउने प्रचलन छ ।