Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

विष्णु न्यौपानेको ‘फर्केर हेर्दा’ काव्य सार्वजनिक

Monday, December 31, 2018 National Power

काठमाडौं- बिष्णु न्यौपाने (उपाध्याय) द्वारा रचना गरिएको “फर्केर हेर्दा” यथार्थ र अनुभूतिको संयोजन गीती काव्य एक समारोहका वीच सार्वजनिक गरिएको छ । जमलस्थित एकहलमा आयोजित कार्यक्रममा काव्य बारे चर्चा गरिएको थियो । लेखकका अनुसार तात्कालिन माओवादी आन्दोलनका एक नेता आफ्ना श्रीमान् हरिकृष्ण उपाध्यायको २०४० सालमा मशाल हुँदै जनयुद्ध र यहाँसम्मको यात्रा संस्मरणको रूपमा पुस्तक केन्द्रित रहेको छ । उनले भनिन्, यो देशको परस्थितिले जन्माएको कथा हो ।
२०६० साल चैत्र १ गते सेनाको कालकोठरीबाट जीवित फर्कँदा हरिकृष्णजी जिउँदो लास जस्तै भएको स्मरण गर्दै न्यौपानेले भनिन्, मेरा श्रीमानले देशका लागि एकयुग जिउनु भयो, उनको शरिर नचल्ने र कमजोर थियो, तर मन बलियो । कहिल्यै परिवर्तनको भावनामाथि खेलवाड गर्न खोज्नु भएन । मेरा मनमा लाग्थ्यो सबै परिवर्तनका पक्षधरहरू यस्तै निडर र शक्तिशाली हुन्छन् । न्यौपानेले भावुक हुँदै भनिन्,यही भावना समेटेर मैले “फर्केर हेर्दा” काव्य रचना गरेको हुँ ।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल प्रमुख अतिथिको रूपमा उपस्थित थिए । उनले आजभोली श्रष्टा तथा सर्जकहरूले नकारात्मक भावना बढी पोख्ने गरेकोमा चिन्ता व्यक्त गरे । अध्यक्ष गजुरेलले भने, श्रष्टाहरू जनयुद्धबाट मैले के पाएँ भन्छन्, खाली दुःख, पीडा र वेदनाका भावना मात्र पोख्छन् । यस पुस्तक भने क्रान्तिको भावनाबाट लेखिएको उनको टिप्पणी थियो ।

क्रान्तिमा बलिदान र यातना हुन्छ भन्ने कुरालाई स्विकार गरेकोले पनि यो उत्कृष्ट रचना भएको र एक महिला लेखकका लागि शाहस भएको उनको भनाई थियो । उनले सहयोद्धाहरूबाट क्रुरता र गद्दारी भएकोमा चिन्ता लागेपनि आफुहरू निरन्तर क्रान्तिमा लागिरहेको पनि बताए । आजको संङ्घर्ष हिजोको झैँ नहुने भन्दै आफुहरू जनगणतन्त्रका लागि लड्ने योजनामा रहेको खुलासा गरे ।

राष्ट्रिय महिला आयोगका पूर्व अध्यक्ष नैनकला थापा, प्रगतिशील लेखक संघका उपाध्यक्ष विन्दु, पूर्व माओवादी लक्ष्मी श्रेष्ठ, मार्क्सवादी समालोचक प्रा।डा।जगदिशचन्द्र भण्डारीले सो अवसरमा मन्तव्य राखेका थिए । पाठकको रूची समावेश भएकोले यस पुस्तकमा व्यक्तिगत जीवन केन्द्रमा नभएको प्रा।डा। भण्डारीको ठम्याई छ । बिष्णु र हरिकृष्णको पात्रबाट सामाजिक जीवनलाई नियाल्ने प्रयत्न भएकोले पनि यो पुस्तक जनमनमा बस्न सफल हुनेमा उनले विश्वास व्यक्त गरे ।

सोकार्यक्रममा लेखकका श्रीमान् हरिकृष्णले विगतलाई फर्केर हेर्न आफुलाई खास रूची नभएको बताए । तर, आफ्नो जीवनसंगीनीले संस्मरणका रूपमा किताब निकाल्दा भने खुशी लागेको उनको भनाई थियो । उनले भने, कहिलेकाहीँ विगतबारे कुराकानी हुन्थ्यो तर किताब नै निकाल्ने बारे भने थाहा थिएन । यो किताब राजनैतिक, सामाजिक, परिवारिक दृष्टिकोणबाट अझपनि अधुरै छ । तर, लेखिकाको प्रयास भने सह्राननीय भएको उनको भनाई थियो । २०४६ साल पुस १५ गते पार्टीकै निर्णय अनुसार वैवाहिक जीवनमा बाँधिएको ३० औँ बर्षगाठको अवसरमा पुस्तक लोकार्पण गरिएको थियो ।