गुल्मी – गुल्मीमा घाइते अवस्थामा चितुवा फेला परेको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर १ हुँगास्थित टाटिम जंगलमा दुम्सीलाई थापेको पासोमा परेर घाइते अवस्थामा चितुवा परेको हो । शुक्रबार बेलुकी स्थानीयले घाइते अवस्थामा चितुवालाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी र डिभिजन वन कार्यालय गुल्मीबाट सहायक डिभिजन अधिकृत पुस्पराज श्रेष्ठ, नासु नविन पन्थीसहित ५ जनाको टोली चितुवा भएको स्थानमा पुगेको थियो ।
पासोबाट फुत्किएर भागेको घाइते चितुवा फेला परेको डिभिजन वन कार्यालय गुल्मीका नासु नविन पन्थीले बताए । चितुवालाई थप उपचार र त्यसको व्यवस्थापनसँगै जंगलमा छोड्नको लागि चितवन राष्ट्रिय निकुञ्जबाट ४ जना बिशेषज्ञ बोलाइएको थियो । गएराति नै चितवनबाट गुल्मी आएको राष्ट्रिय निकुञ्जका बिशेषज्ञहरुले चितुवालाई बेहोस बनाई डिभिजन वन कार्यालय गुल्मीमा ल्याएका थिए । चितुवालाई थप उपचार र निकुञ्जमा छोड्ने गरी चितवन पठाउने तयारी भैरहेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।