२७ भदौ, काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले तीज भड्किलो र खर्चिलो भएको भन्दै यसको मौलिकता जोगाउनु पर्ने आवश्यकता औंल्याएका छन् । ‘तीज पर्वको मौलिकतालाई बिर्सेर यसलाई भड्किलो र खर्चिलो बनाउनेतिर लाग्नु हुँदैन’, तीज पर्वको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘महिला स्वतन्त्रताको इतिहास बोकेको पर्वलाई जोगाउनु पर्छ ।’
प्रधानमन्त्री ओलीले तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरेका छन् ।बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले देशलाई एकताको सूत्रमा बाँध्ने भन्दै उनले यस्ता पर्वहरुको रखबारी गर्नुपर्ने बताए ।