२५ भदौ, काठमाडौं – काठमाडौंको सिनामंगल भत्केको पुलमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा ५८ प ४२९६ नम्बरको मोटरसाइकलमा सवार रहेका अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो । बिहान करिब २ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन ।
यसैबीच धादिङको बेनिघाट रोराङ गाँउपालिका ३ सितलबजारमा आइतबार साँझ भएको सवारी दुर्घटनामा गम्भीर घाइते भई उपचारको लागि काठमाडौं ल्याइएकी एक महिलाको मृत्यु भएको छ । धादिङको निलकण्ठ नगरपालिका १२ की २१ वर्षीया लक्ष्मी भट्टको गएराति ९ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
हिजो साँझ सवा ६ बजे उनीसहित उनकी २ वर्षीया छोरी निकिता र सुनिल पाठक सवार ना २६ प १४५८ नम्बरको मोटरसाइकललाई बा ३ ख १४७ नम्बरको बसले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जना गम्भीर घाइते भएका थिए । घाइते सबैलाई उपचारको लागि नर्भिक अस्पताल थापाथली ल्याइएको थियो ।