२५ भदौ, काठमाडौं – गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डमा जिल्ला अदालत, चितवनबाट सफाइ पाएका छविलाल पौडेल कारागारबाट रिहा भएका छन् । चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गरेसँगै पौडेल सोमबार बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् । फुजेलका अधिकारीको हत्या आरोप खेपेका अधिकारीलार्इ गत असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको थियो । त्यसको करिब २ महिनापछि पौडेलसहित १२ ले सफाइ पाएका हुन् । मुद्दा खेपेका १२ मध्ये छविलाल जेल परे पनि अन्य भने पक्राउ परेका थिएनन् ।
डिल्लीबजार कारागारले चितवन जिल्ला अदालतले सफाइ दिएसँगै पौडेल सोमबार बिहान रिहा भएको जानकारी दिएको छ । रिहापछि छविलालले भने– बुझ्नेले कुरा नबुझेपछि, मनमा पीर त पर्ने नै भयो , रिहा भएका पौडेललाई स्वागत गर्न उनका समर्थक बाजागाजासहित डिल्लीबजार कारागार पुगेका थिए । समर्थकले पञ्चेबाजासहित केहीबेर र्यालीसमेत निकालेका थिए । यसअघि नेकपाका अध्यक्ष प्रचण्ड स्वयं पौडेलको स्वागतका लागि जाने भनिए पनि उनी भने उपस्थित भएनन् । रिहाइपछि पौडेलले पीडित परिवारले नबुझेर आफूविरुद्ध उजुरी दिएको प्रतिक्रिया दिए । ‘उहाँहरुले तथ्य नबुझिकनै मविरुद्ध उजुरी दिनुभएको हो’, रिहाइपछि पौडेलले भने, ‘उहाँहरुलाई पछतो नहोस् ।’