Monday 7th October 2024

    एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको उपाधि    ‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा... (भिडियो सहित)    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना    युकेवासी नेपालीले रुचाए काँडेतार    लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक

नदीबाट बालुवा चोर्न नपाएपछि जनप्रतिनिधिमाथि हमला

Monday, July 9, 2018 National Power

२५ असार, काठमाडौं – त्रिशूली नदीबाट अवैध रुपमा बालुवा दोहन गर्न रोक लगाएको भन्दै धादिङको गल्छी गाउँपालिकाका जनप्रतिनिधि माथि सामूहिक आक्रमणको प्रयास भएको छ । गल्छी गाउँपालिकाभित्र पर्ने त्रिशूली नदीबाट अवैध रुपमा बालुवा निकालेर महंगो मूल्यमा बिक्री गर्दै आइरहेको समूहले शनिबार गल्छी गाउँपालिकाको कार्यालय बैरेनी बजारमा कार्यपालिकाको बैठक बसिरहेको बेला आक्रमण प्रयास गरेको हो ।

गाउँपालिका कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर गल्छी–४ का केशव अधिकारी, दीपक अधिकारी, प्रदीप अधिकारी र गल्छी ६ का अर्जुनलाल श्रेष्ठको समूहबाट गम्भीर खतरा रहेको भन्दै सुरक्षा प्रवन्ध गरिदिन अनुरोध गरेको छ । गल्छी गाउँपालिकाका जनप्रतिनिधिहरु आफैं उपस्थित भई कार्यालयमा दिएको उजुरीका विषयमा जिल्ला प्रहरी कार्यालयलाई तत्काल आवश्यक छानविन गरी दोषिमाथि कारवाही गर्न निर्देशन दिइसकेको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए ।

गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्ष राधा तिमिल्सिनाका साथै ८ वटै वडाका वडाध्यक्षहरु र कार्यपालिकाका सदस्यहरु बैठक बसिरहेको बेला बालुवाको बिषयमा छलफल गर्न कार्यालयमा पुगेका गल्छी(४ का केशव अधिकारीको नेतृत्वमा आक्रमण प्रयास भएको गाउँपालिकाका पदाधिकारीहरु बताउँछन् ।

गल्छी गाउँपालिकामा लामो समयदेखि नदीलाई कब्जा गरी बालुवा झिकेर बिक्री गर्ने गिरोह सक्रिय रहँदै आएको छ । गाउँपालिका अध्यक्ष लगायतको टोलीलाई हातपात गर्न जाने नेतृत्व गरेका केशव अधिकारी तत्कालीन नेकपा एमालेबाट गल्छी ४ नम्बर वडाको अध्यक्ष पदमा झिनो मतले पराजित व्यक्ति हुन् । गाउँपालिकाको सबै तहमा एमालेका उम्मेदवार विजयी भएकोमा अधिकारी मात्रै पराजित हुन पुगेका थिए । अधिकारी नेकपाका नेता राजेन्द्र पाण्डेनिकटका भनेर चिनिन्छन् ।

धादिङको गल्छीमा मात्रै होइन, गजुरी, बेनीघाटरोराङ गाउँपालिकामा समेत सार्वजनिक स्थल, नदी खोला बगर कब्जा गरी अवैध ढंगबाट बालु्वा उत्खनन गर्ने गिरोह सक्रिय छ । बिचौलिया समूहले नदीबाट बालुवा निकाल्ने मजदुरलाई डर त्रास देखाई एक टिपर बालुवाको ७ हजार दिएर १२ हजार रुपैयाँ भ्याट बिल काटेर ५ हजार रुपैयाँ छुट्टै लिएर प्रतिटिप १७ हजारमा बालुवा बिक्री गर्दै आइरहेको स्थानीय बताउँछन् । गल्छीमा १७ हजार पर्ने बालुवा काठमाण्डौं पुग्दा ३५ हजारसम्म पर्ने गर्दछ ।

गल्छी गाउँपालिकाको छोटेबगरमा अवैध ढंगबाट बालुवा निकालेर बिक्री गर्ने कार्यमा संलग्न रहेको समूहले एक साताअघि स्थानीय सिर्जना घलेलाई हातपात गरेको थियो । घलेले नदीबाट निकाल्ने बालुवाको आम्दानी गाउँपालिकाको हुनुपर्ने भनेर आवाज उठाउँदा बिचौलिया समूहले घलेलाई हातपात गरेको हो ।

घलेले आफूलाई अन्याय भएको भन्दै प्राकृतिक श्रोत दोहन गर्ने माथि कारवाहीको माग राखी जिल्ला प्रशासन कार्यालयमा उजुरी पनि दिइएकी थिइन् । तर प्रमुख जिल्ला अधिकारी पाण्डेले दुई पक्षबीच मिलापत्र गराइदिएका थिए । त्यसलगत्तै प्रमुख जिल्ला अधिकारीले नै बिचौलिया समूहको संरक्षण गरेको भन्दै पाण्डेको आलोचना समेत भएको थियो ।

अनलाइनखबरबाट