Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

देउवा नेतृत्व असफल भयो : सुजाता

Monday, June 18, 2018 National Power

४ असार,काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भैसकेको आरोप लगाएकी छिन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सभापति देउवाकै कारण पार्टी कमजोर भएको भन्दै अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिईन् । चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजिनामा दिनु नपर्ने तर पराजयको जिम्मेवारी बहन गर्नुपर्ने उनको तर्क छ ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भनिन्,“पद् छोड्नै पर्छ भन्ने छैन्, पराजयको जिम्मेवारी लिएर नेता कार्यकर्तामा उत्साह थप्नुपर्छ, गिरिजाले पार्टी हार्दा जिम्मेवारी लिएर उत्साह थप्नुहुन्थ्यो, अहिलेको नेतृत्वले त्यसो गर्न सकेन ।”

पछिल्लो समय कांग्रेसको संगठन केन्द्रदेखि गाउँसम्म ध्वस्त भएको भन्दै कोइरालाले सक्षम र राम्रा मान्छेलाईभन्दा आफ्ना मान्छेलाई काखी च्याप्ने गरेको पनि गुनासो पोखिन् ।

“गाउँ–गाउँमा सक्षम कार्यकर्ता छन्, सुतेर बसेकालाई जगाउन सक्ने हो भने कांग्रेस बलियो हुन्छ । फेरी जागेर आउँछ । जगाउन सक्ने नयाँ नेतृत्व चाहिन्छ।” कोइरालाले अघि भनिन्–“पार्टीको तल्लो तहसम्मका नेता कार्यकर्ताको भावना बुझ्न सक्ने नेतृत्व चाहिन्छ । माथि बसेर लाद्ने नेतृत्वले पार्टीलाई असफल बनाउँछ ।”

अब महासमितिको बैठक बसेर कांग्रेसको आगामी यात्रा तय गर्नुपर्नेमा उनले जोड दिएकी छिन् । महासमितिको बैठकको भावनाअनुसार नेतृत्व चल्न तयार हुनुपर्नेमा उनले सचेत गराइन् ।

अहिले संसदमा प्रतिपक्षीको भूमिका पनि कांग्रेसले प्रभावकारी रुपमा निभाउन नसकेको कोइरालाको जिकिर थियो ।

पार्टीभित्रका सबै समस्या समाधान गर्न सक्ने सक्षम नेतृत्व अबको आवश्यकता रहेको उनको भनाई छ । महासमितिको बैठकपछि महाधिवेशनको यात्रा तय गर्नुपर्ने भन्दै उनले जसले विपीको सिद्धान्त अंगाल्न सक्छ उसैलाई नेतृत्वमा ल्याउनुपर्ने बताईन् ।

कोइराला परिवारभित्रबाटै अबको नेतृत्व खोज्न लाग्नु भएको हो त पत्रकारको प्रश्नमा उनले जोसुकै भएपनि कांग्रेसलाई जगाउन सक्ने व्यक्ति हुनुपर्ने तर्क गरिन् ।

‘‘सधैँ कोइराला परिवार रहँदैन, कोइराला हूँदैमा सबै राम्रो हुन्छ भन्ने छैन, कोइरालाहरु भगवान पनि होइनन्, तर विपिको सिद्धान्त लागु गर्न सक्ने व्यक्ति चाहिन्छ।”–उनले भनिन् ।

पार्टीको नीति, सिद्धान्त र विचाभन्दा बाहिर जान खोज्नेलाई नेतृत्व दिन नहुने उनको तर्क थियो । सबै एकजुट भएर पार्टी सुधारतर्फ केन्द्रित हुन सके उपलब्धि हाँसिल हुनेमा आफू विश्वस्त रहेको नेतृ कोइरालाले बताईन् ।

भारत र चीन दुवै देशबाट नेपालले फाईदा लिनसक्नुपर्छ,

फरक प्रसंगमा उनले नेपालका दुई छिमेकी देश भारत र चीनसँगको सम्बन्ध एकनासले अगाडि बढाउनुपर्नेमा जोड दिइन् । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको सन्दर्भमा उनले नेपालको हितमा हुनेगरि भ्रमणलाई केन्द्रित गर्न सुझाब दिइन् ।

उनले भनिन्,‘भारत र चीन दुवै देशबाट नेपालले फाईदा लिनसक्नुपर्छ, दुवैसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ।’ विश्वकै शक्तिशाली अर्थतन्त्र भएको देश चीनबाट नेपालले फाइदा लिनका लागि प्रधानमन्त्रीको भ्रमण सफल हुने कोइरालाले विश्वास व्यक्त गरिन् ।