मधुमेह भन्नासाथ हाम्रो दिमागमा एउटै कुरा आउँछ चिनी रोग अर्थात् चिनी खान नहुने रोग । त्यसैले, हामी मधुमेहका बिरामीका लागि चिया होस् वा अन्य कुनै मिठाई चिनी हाल्नै दिदैनौँ । कतिसम्म भने फलफूल खाँदा पनि गुलियो नभएका फलफूल खाने सल्लाह दिन्छौँ ।
त्यतिमात्र कहाँ हो र, मधुमेहका बिरामीले त भातै नखाओस् भन्नेसम्मको चाहना राख्छौँ । हामी सोच्छौँ, भातमा कार्वोहाइड्रेट धेरै हुन्छ । भात खानेबित्तिकै रगतमा चिनीको मात्रा (सुगर) बढिहाल्छ । आलुमा पनि त्यही कुरा लागू हुन्छ । यस्ता कुरा गर्नु अघि हामी पोषणविद्सित सल्लाह लिन एक पटक पनि जरुरी ठान्दैनौं ।यसको पनि आ-आफ्नै कारण हुनसक्छ ।
जब कि मधुमेहका बिरामीले मधुमेह रोग लागि सकेपछि हर्मोन वा इन्डोक्राइनोलोजिस्टलाई देखाउनु त पर्छ नै । साथै सन्तुलित भोजन तथा पोषणयुक्त भोजनका लागि एकपटक पोषणविद्सितको सल्लाह लिनु आवश्यक छ । यसले मधुमेहका विरामीलाई पोषणयुक्त तत्वको सेवन कसरी गर्ने मात्र नभई दिनमा कति पटक र के के खाने तथा कसरी खाने भन्नेबारे बुझ्न समेत मद्दत गर्छ ।
कसरी ?
चावहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरमा कार्यरत पोषणविद् डा। भूपाल बानियाँका अनुसार मधुमेहका विरामी अक्सर खाना कम खाने गर्छन् । त्यस्तै गुलियो मिसिएको खानेकुरा खानु हुँदैन भन्दै शरीरका लागि आवश्यक तत्व समेत ग्रहण गर्दैनन् । जसले गर्दा मधुमेहका विरामीको शरीरलाई आवश्यक पोषण त पुग्दैन नै । शरीरका लागि चाहिने इनर्जी समेत खानाबाट प्राप्त नहुँदा विरामी कमजोर हुने गर्दछ ।
त्यो कसरी भने हामीले खाएको खाना ग्लूकोजमा परिणत हुन्छ । यसले शरीरलाई इनर्जी प्रदान गर्छ । जब कि मधुमेह बिरामीले खाएको खाना ग्लूकोजमा परिणत त हुन्छ तर उक्त ग्लुकोज इनर्जीको रूपमा परिणत हुन सक्दैन । त्यसपछि मधुमेहका कारण विरामीको आँखा, मुटु, मिर्गौला, नसा लगायत शरीरका विभिन्न अंगमा समेत असर पर्छ ।
त्यसो भए मधुमेहका कारण हुनसक्ने जटिलता रोक्न के गर्ने त ?
रगतमा चिनीको मात्रा कम गर्न मधुमेहका बिरामीले सबैभन्दा पहिले समय समयमा थोरै थोरै भए पनि केही न केही खानेकुरा खाइराख्नु पर्दछ । त्यस्तै, जे खाए पनि मात्रा मिलाएर खानुपर्दछ । चार घण्टाको अन्तरालमा खाना खानुपर्छ । आफ्नो तौल तथा उचाइका आधारमा खानुपर्छ । शरीरलाई आवश्यक पर्ने क्यालोरी अनुसार खानुपर्छ । किनभने आवश्यकताभन्दा कम तथा बढी क्यालोरी शरीरका लागि घातक हुनसक्छ ।
कसरी थाहा पाउने शरीरका लागि कति क्यालोरी चाहिन्छ ?
चिकित्सकहरूका अनुसार एउटा व्यक्तिलाई कति क्यालोरी आवश्यक छ भन्ने कुरा व्यक्तिपिच्छे फरक हुन्छ । उनीहरूको कामको प्रकृति अनुसार फरक पर्छ । कुनै व्यक्ति दिनभर भारी बोक्छ तथा धेरै पसिना बगाउँछ भने उसलाई धेरै क्यालोरी आवश्यक पर्छ । त्यस्तै कुनै व्यक्ति दिनभर अफिसमा बसेर काम गर्छ भने उसलाई क्यालोरी पनि कम चाहिन्छ । अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मान्ने हो भने एउटा सामान्य व्यक्तिको शरीरलाई प्रति तौल ३० देखि ३५ किलो क्यालोरी आवश्यक पर्छ ।
खानामा क्यालोरीको तालमेल ?
प्रत्येक व्यक्तिको खाने तरिका फरक हुन्छ । खानाको आ(आफ्नै रोजाइ हुन्छ । त्यसैको आधारमा कोही व्यक्ति सागपातमा धेरै रमाउँछन् भने कोही दालभातमा । जो व्यक्ति तरकारी धेरै खान्छन्, उनीहरूलाई त खासै समस्या नहोला तर जो व्यक्ति दालभात धेरै रुचाउँछन्, उनीहरूमा क्यालोरी समस्या हुनसक्छ ।त्यस्ता व्यक्तिले हरेक पटक खाना खाँदा आफ्नो खानालाई विभिन्न भागमा बाँड्नु पर्छ ।एउटा व्यक्तिले दिनमा २१ सय क्यालोरीको सेवन गर्छ भने अब मधुमेह भइसकेपछि उसले उक्त २१ सय क्यालोरीलाई विभिन्न चरणमा बाँडेर खानुपर्छ । उसले बिहानको समयमा एक कप चियाको साथमा दुई पिस सुगर फ्रि बिस्कुट खान सक्छ । बिहान दश बजेको समयमा खाना खान सक्छ ।
खाना खाँदा थोरै भात, धेरै तरकारी राख्नसक्छ । तरकारीमा पनि एक भाग हरियो सागसब्जी तथा एक भाग अन्य तरकारी राख्नसक्छ । थोरै अचार पनि राख्न सक्छ । केही टुक्रा सलादका साथमा दही, पातलो दाल तथा अन्य खानेकुरा राखेर उक्त थाल मज्जाले भर्न सक्छ । त्यस्तै दिउँसो चिउरा, रोटी, ओट मिल लगायतका हल्का खाजा खानुका साथै पाँच बजेतिर करिब दुई सय ग्राम फलफूल खानसक्छ । रातको खानामा थोरै तरकारीका साथमा दुईवटा रोटी खाएर पनि आफ्नो खानालाई सन्तुलित राख्न सकिन्छ ।
हामी भने एकै पटक धेरै खाना खानेमा विश्वास राख्दछौँ । तर जब मधुमेह रोग लाग्छ, त्यतिबेला भने अज्ञानता तथा आधा ज्ञानका कारण आफ्नो खानालाई तुरुन्तै आधा घटाउन थाल्छौँ । कतिसम्म भने, हिजो सम्म १५ देखि १८ गास खाना खाइरहेको मान्छेलाई मधुमेह रोग लाग्यो भन्नासाथ खानामा तुरुन्तै कटौती गर्न सुरु गछौंर्ँ । हिजोसम्म १५ देखि १८ गाससम्म खाना खाइरहेको मानिसलाई आजबाट नौ गाँस खाना खान बाध्य पाछौं । यतिसम्म पनि सोच्दैनौं कि त्यसरी एकाएक खानामा कटौती गर्दा बिरामीको शरीरमा कस्तो असर पर्छ ।हुनुपर्ने के हो भने हिजोसम्म १८ गाँस खाना खाइरहेको व्यक्तिले आज पनि खानु पर्ने त १८ गाँस नै हो । यत्ति हो कि हिजो उसको खानामा भात र बाक्लो दालको परिणाम धेरै हुने गथ्र्यो भने आजदेखि भात र दालको ठाउँ पातलो दाल, सागसब्जी तथा सलाद आदि हुनु आवश्यक छ ।
अन्यथा हिजोसम्म खाना खाएको दुई घण्टापछि भोक लागेको महसुस गर्ने व्यक्तिलाई आजबाट एक घण्टामै भोक महसुस हुन थाल्छ । फलतः उसले हिजोको भन्दा धेरै परिणाममा झनै बढी खाना खान थाल्छ ।परिणामस्वरूप मधुमेहको रोगीलाई त उसले कम खाना खाइरहेको भान हुन्छ । वास्तविकताचाहिँ उसले हिजो खानेभन्दा धेरै खानेकुरा खाइरहेको हुन्छ । यसकारण खानामा नियन्त्रणका बाबजुद पनि रगतमा चिनीको मात्रा कम हुँदैन, बरु झन् झन् बढ्छ ।
त्यसो भए मधुमेहका विरामीले के गर्ने त ?
पोषणविद् डा। भूपाल बानियाँका अनुसार मधुमेहका विरामीले आफ्नो खानपानमा विशेष ध्यान दिएर पनि मधुमेहलाई नियन्त्रणमा राख्न सक्छन् । त्यसको लागि मधुमेहका विरामीले गुलियो, चिनी धेरै हालेको तथा ग्लूकोज युक्त खानेकुरा सिधै खानु हुँदैन । त्यस्तै, थोरै थारै खाने तर धेरै पटक खाने गर्नु पर्छ । मधुमेहका विरामीका लागि मेथी निकै लाभदायक हुने भएकोले उनीहरूले आफ्नो आहारमा टुसा उमारेको मेथीलाई हल्का तारेर तथा उसिनेर पनि खान सक्छन् । तरकारीमा मेथी पड्काएर पनि त्यसको स्वाद लिनसक्छन् ।
त्यस्तै खानामा फापरको रोटी, सिस्नु आदिलाई पनि समावेश गर्न सकिन्छ । फलफूलमा स्याउ उत्तम मानिन्छ । स्याउमा भरपूर मात्रामा फ्रुक्टोस हुन्छ । फ्रुक्टोसकै कारण स्याउ गुलियो हुने भएकोले यसलाई खाँदा मधुमहेका रोगीहरूलाई खासै फरक पर्दैन । यद्यपि अत्यधिक मात्रामा स्याउको सेवनले मधुमेहका बिरामीको आँखामा भने असर गर्न सक्छ । त्यसैले, यस कुरामा भने विशेष ध्यान दिनु आवश्यक छ ।त्यसबाहेक, मधुमेह रोगीका लागि कालो चिया पनि सेवन गर्न सक्छन् । कालो चियामा फाइटोकेमिकल्स हुन्छ जसले मधुमेह कम गर्न सघाउ पुर्याउँछ ।
मधुमेहका विरामीले आलु खानु हुँदैन भन्ने पनि भ्रम रहेको छ । जब कि मधुमेहका बिरामीले आलु नै खान नहुने भन्ने हुँदैन । उचित मात्रामा तथा थोरै थोरै खाएमा आलुले पनि मधुमेहलाई खासै समस्या पार्दैन । हिजोसम्म एक पटकमा दुईटा आलु खाइन्थ्यो भने आज पनि आलु खान त सकिन्छ । यत्ति हो कि हिजोसम्म दुईवटा आलु एकै पटकमा खाइन्थ्यो भने आज पटकपटक गरी दुईवटा आलु सेवन गर्नु पर्छ ।
के नगर्ने ?
मधुमेहका रोगीले गुलियो खानेकुरा सकेसम्म खानुहुँदैन । गुलियोले रगतमा चिनीको मात्रा बढाउने हुँदा मधुमेहका विरामीले गुलियो पेय पदार्थ, सोडा, जुस आदि खानु हुँदैन । त्यस्तै भुटेको तारेको, चिल्लो आदि खानु हुँदैन । पिज्जा, वर्गर जस्ता फास्टफुड पनिसेवन गर्नु हुँदैन ।च्याँख्ला पनि धेरै खानुहुँदैन । च्याँख्लामा पनि क्यालोरीको मात्रा धेरै हुने गर्छ । यही कुरा नबुझेर मधुमेहका विरामीले भात त कम खान्छन्, तर च्याँख्ला भने धेरै खान्छन् । जसका कारण मधुमेहमा कमी आउनुको सट्टा झन् बढ्ने गर्छ ।
च्याँख्लामात्र हैन, बाक्लो दाल पनि खानु हुँदैन । हामी सोच्छौँ, दाल भनेको प्रोटिन हो । त्यसैले जति धेरै दाल पिए पनि समस्या हुँदैन । जब कि बाक्लो दालमा पनि झण्डै ५० प्रतिशत कार्बोहाइड्रेट हुन्छ । यसको सेवनले पनि रगतमा चिनीको मात्रा बढ्ने गर्छ ।शरीरलाई आवश्यक पर्ने क्यालोरीयुक्त खाना खाएर वा चिकित्सकको परामर्श अनुसार खाना खाएर मधुमेह रोगको रोकथाम गर्न सकिन्छ ।