Monday 26th October 2020

    जो जहाँ छौं , त्यहीँ बसेर हाँसी खुशी दशैं मनाऔं    दक्षिण एशियामा चीनलाई अमेरिकाको काउन्टर    जनचेतना नेपालद्वारा काभ्रेकाे माझी गाउँमा दशैंको शुभकामना साँट्दै ४९ परिवारलाई खाद्यान्न वितरण    थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो    अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न

बलात्कार घटनामा मिलापत्र गर्न जनप्रतिनिधिको ‘दबाव’

Thursday, April 19, 2018 National Power


६ वैशाख, मोरङ – मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं। ७ को ८ वर्षीया बालिकालाई स्थानीय ६० वर्षीय वृद्धले बलात्कार गरेको र जनप्रतिनिधिको दबावमा मिलापत्र गराउने कोशिस भइरहेको आरोप पीडित पक्षले लगाएको छ । यही वैशाख २ गते दिउँसो २ बजेतिर ८ वर्षीया एक बालिकालाई छिमेकी ६० वर्षीय जीतबहादुर मगरले बलात्कार गरेको पीडित पक्षको आरोप छ । बिस्कुट दिने वहानामा घरमा बोलाएर मगरले उनीमाथि बलात्कार गरेको पीडित पक्षको दावी छ । ती बालिकाकी ११ वर्षीया दिदीले देखेपछि बहिनीको उद्धार गरेर घर लगेकी थिइन् । त्यसपछि आमाले घटनाबारे जानकारी पाएकी थिइन् ।बालिकालाई तत्काल वेदबारीको स्वास्थ्य केन्द्रमा समान्य उपचारपश्चात धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको थियो ।

घटनालगत्तै पीडित पक्षले इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिए पनि प्रहरीले आरोपीलाई अझै पक्राउ गरेको छैन । घटनालाई राजनीतिक रंग दिइएको र आरोपीलाई राजनीतिक संरक्षण दिएर भगाइएको आरोप पीडित पक्षको छ । वैदेशिक रोजगारीको सिलसिलामा हाल मलेसियामा रहेका पीडित बालिकाका बुवाले भने, ‘मेरो घरमा महिला अधिकारकर्मी र बालअधिकारकर्मीहरु गएको बेला सुन्दरहरैंचाका वडाअध्यक्षले यो कुरा मिल्नमिल्न लागिसकेकोले धेरै नउठाइदिनुहोला भनेछन् । अपराधीलाई राजनीतिक संरक्षण दिएर भगाइसकिएको छ ।’घटना भएलगतै स्थानीय अगुवाहरुलाई घटनाको बारेमा आमाले जानकारी गराए पनि वडा अध्यक्ष चैतन्य सिटौला बाहिर भएको बताएपछि भोलि पल्ट घटनाको विषयमा छलफल गर्ने भनिएको थियो ।तर भोलिपल्ट पीडक मगर फरार भएको पीडित बालिकाकी आमाले बताइन् ।पीडितको आमाले घटनाका बारेमा सुन्दर हरैचा नगरपालिकाकी उपमेयरलाई समेत जानकारी गराइएकी थिइन्।

पैसामा मिलापत्र गराउने प्रयास

समाजका भद्रभलादमी भनिने स्थानीय केही व्यक्तिहरुले समेत मिलापत्र गर्न दबाव दिएको आरोप बालिकाका बुवाले लगाए । उनले भने, ‘एकचोटी गल्ती भयो माफ पाऊँ भनेको छ । अबदेखि यस्तो गल्ती गर्दिनँ भनेकाले मिलौं भनेर स्थानीय केही व्यक्तिहरुले भनेका छन् । तर म छाड्दिनँ, कानुनीरुपमा अघि बढिसकेको छु ।’ बालिकाको आमाको भनाइअनुसार पीडक मगरको छोरा चन्द्रबहादुरले पैसा दिन्छु, मिल्नु पर्छ भनेर दबाव दिँदै आएका छन् । ‘बुवा ल्याउँछु, प्रहरी केस नगरेरै गाउँमा मिलाऔं भन्दैछ,’ बालिकाकी आमाले अनलाइनखबरसँग भनिन्, ‘वडा सदस्य भुवनसिंह मगरले पनि गाउँमै मान्छे भेला पारेर गाउँमै मिलाउनुपर्छ भन्छन् ।’घटनापछि छोरी स्कुल जानसमेत नमानेको र श्रीमान विदेशमा रहेकाले धेरै समस्या भइरहेको बालिकाकी आमाले बताइन् ।

मिलापत्र गराउन सकिँदैनः प्रहरी

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजि कटुवालले २४ घण्टाभित्र अपराधीलाई पक्रने भने पनि अझै नपक्रेको गुनासो अभिभावकको छ । तर प्रहरी निरीक्षक कटुवालले मगरको खोजी भइरहेको बताए । उनले घटनामा मिलापत्र गराउन नसकिने स्पष्ट पारे । पीडकको पहिचान भइसकेकाले कानुनी कारवाही हुने उनले बताएका छन् । गाउँलेले ढिला खबर गरेकाले आरोपी भाग्न सफल भएको प्रहरीको भनाइ छ । तर घटना भएको यतिका दिनसम्म पनि गुपचुप राख्नुले प्रहरीको भूमिकामा समेत पीडित पक्षले प्रश्न उठाएको छ ।

प्रहरीले घटनाबारे जानकारी गराएनः मेयर ढकाल

सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव ढकालले भने आफूलाई यो घटनाको विषयमा जानकारी नै नभएको दाबी गरे । आफ्नै नगरपालिकामा यति ठूलो घटना हुँदा पनि प्रहरीले समेत जानकारी नगराएको मेयर ढकालको भनाइ छ । उनले पीडित पक्षलाई न्याय दिलाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

अनलाईनखबर