Friday 19th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

रसुवागढीलाई काठमाडौं नजिक्याउने सुरुङ बनाउन आधा दर्जन चिनियाँ कम्पनी इच्छुक

Tuesday, March 27, 2018 National Power

१३ चैत, काठमाडौं – रसुवागढीलाई काठमाडौं नजिक्याउने गरी प्रस्ताव गरिएको टोखा-थानसिङ सुरुङमार्ग निर्माण गर्न चिनियाँ कम्पनीहरु इच्छुक देखिएका छन् । सुरुङमार्ग निर्माणको मोडालिटी टुंगिन बाँकी रहँदा नै चिनियाँ कम्पनीहरुले परियोजनामा चासो देखाएका हुन् । दर्जन भन्दा बढी चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेको सडक विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।

सबै कम्पनीले निर्माणको एउटै मोडालिटी प्रस्ताव गरेका छन्, इन्जिनियरिङ प्रक्रिर्योमेन्ट, कन्ट्रयाक्ट एण्ड फाइनान्सिङ (ईपीसीएफ) मोडेलमा सुरुङमार्ग बनाउने । ईपीसीएफ एउटै कम्पनीले वित्तीय स्रोत जुटाएर आफैंले बनाएपछि हस्तान्तरण गर्ने मोडेल हो । परियोजना बनाएबापत सरकारले लागतअनुसार रकम भुक्तानी गर्नुपर्छ ।

‘यो प्रोजेक्टमा चासो राख्ने कम्पनीहरु लगातार बढिरहेका छन् । तर, कसरी निर्माण गर्ने भन्ने निर्णय नभएसम्म छलफल अघि बढाउन सकिँदैन,’ श्रेष्ठले भने, ‘अब परियोजनालाई अघि बढाउन के-के गर्ने भन्ने अहिलेकै सरकारमा निर्भर हुन्छ ।’ प्रधानमन्त्री हुनुअघि नै एमाले अध्यक्ष केपी शर्मा ओली रसुवागढी पुगेर काठमाडौंबाट चार लेनको सडक बनाउने बताएका थिए । सरकारको आगमी नीति तथा कार्यक्रममा यो परियोजना अटाउनेमा सडक विभागमा अधिकारीहरु आशावादी छन् ।

विभागले काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म बन्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन गरेर लगानी जुटाउने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । अब निर्माणमा जानुअघि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नुपर्छ । अहिले प्रस्ताव राख्ने चिनियाँ कम्पनीहरुले आफैंले डीपीआर तयार गर्ने बताएका छन् ।

प्रस्तावित सुरुङमार्गलाई बेत्रावती-मैलुङ-स्याफ्रुबेसी सडकमा जोडिनेछ । यो खण्डमा ट्रयाक खोल्न सेनाले काम गरिरहेको छ । चीन सरकारले पनि स्याफ्रुबेसी-रसुवागढी सडकखण्डलाई दुई लेनमा विस्तार गर्ने गरी डीपीआर बनाइरहेको छ । ‘स्याफ्रुबेसी-रसुवागढी १६ किलोमिटर सडकको डीपीआर चीनले अप्रिलसम्म तयार पार्ने छ । त्यसपछि उसैले निर्माण गर्छ,’ उपमहानिर्देशक श्रेष्ठले भने, ‘हामीले पनि सडकको स्तरीकरण र सुरुङमार्गको निर्माण प्रक्रिया अघि बढाउन ढिलाइ गर्नु हुँदैन ।’

प्रस्तावअनुसार काठमाडौंको टोखाबाट नुवाकोटको थानसिंहफाँट छेउ पुग्ने गरी शिवपुरी लेक छेडेर यो सुरुङ बनाइनेछ । झण्डै चार दशमलव दुई किलोमिटर लामो सडक बनेपछि चीनबाट रसुवागढी अढाइ घन्टामा नै पुग्न सकिने अनुमान छ । ‘फास्ट ट्रयाकसँगै यो सुरुङमार्ग तयार हुन सक्यो भने चीन-भारतको दूरी चार घन्टामा छोटिन्छ । यसबाट नेपालले ब्यापारिक तथा आर्थिक लाभहरु पनि लिन सक्छ,’ श्रेष्ठले भने, ‘चीनबाट लोड बोकेर आउने सवारीलाई पनि यो मार्गको प्रयोग निकै सहज हुनेछ । किनभने यो सडकमार्ग अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।’

अहिले सेनाले ट्र्याक खोलिरहेको मार्गमा गल्छी-स्याफ्रु सडकमा जस्तो ठूला पहिरोको जोखिम पनि छैन । चीनले तातोपानी नाका बन्द गरेर अहिले रसुवागढीलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । रसुवागढीलाई अन्तर्राष्ट्रिय नाकामा स्तरोन्नति गर्न उसले टिमुरेमा सुख्खा बन्दरगाह निर्माणको काम पनि अघि बढाएको छ ।

अनलाईनबाट