२८ फागुन, काठमाडौं – बंगलादेशबाट काठमाडौंका लागि उडेको युएस बंगला विमान पहिलोपटक नेपाल आएको होइन, यो काठमाडौंका लागि नियमित उडान भर्दै आएको विमान हो । यसमा रहेका चालक दलका सदस्यहरु काठमाडौं विमानस्थलका बारेमा नयाँ नभएर पुरानै अनुभवी हुन् । दुर्घटनास्थलमा पुगेका एकजना नेपाली विमान चालकसँग दुर्घटनाको प्राविधिक पक्षबारे के – कस्तो प्रारम्भिक सूचना पाइएको छ भनेर हामीले चासो राख्यौं ।
ती विज्ञका अनुसार विमान दुर्घटनासँग सम्बन्धित केही तथ्यहरु यस्ता छन्ः
तथ्य एकः रनवे 0 २ को साटो २ 0
अन्तरराष्ट्रिय उडान भर्ने विमानहरु एयरपोर्टमा अवतरण हुँदा ०२ नम्बरको मार्ग प्रयोग गरेर ल्याण्ड हुने गर्छन् । तर, यो विमान भने ०२ को साटो २० नम्बरबाट ल्याण्ड हुन खोजेको देखिन्छ ।
विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीका अनुसार एयर ट्राफिक कन्ट्रोलरले विमानलाई दक्षिणबाट आउन अनुमति दिएकोमा विमानले त्यो मार्ग समाउन सकेन । पहिलो प्रयासमा विमानले दक्षिणको मार्ग समाउन सकेन र उत्तरबाट आयो । र, असामान्य तरिकाले चालकहरुले फोर्स ल्याण्डिङ गर्ने प्रयास गरेको देखिन्छ ।
कतिपयले धावनमार्गमा विमान चिप्लिएको भन्ने कतिपयले अनुमान गरे पनि त्यसो नभई गलत रनवेबाट समातेर फोर्स ल्याण्डिङ गर्न खोजेको देखिएको छ । विमान दुर्घटना हुनुअघि नेपाल एयरलाइन्सको ह्याङ्गरलाई छुन एकफिटमात्रै बाँकी थियो । रन वेलाई सेन्टरमा पारेर २० को दायाँ साइडबाट विमान भुँइमा खसेको थियो ।
विमानले अवतरणका लागि ०२ को साटो २० मार्ग समात्नुमा चालकको कमजोरी हो या विमानमै कुनै प्राविधिक खराबी देखिएकाले त्यस्तो हुन पुगेको हो भन्ने खुलेकोे छैन । एयर ट्राफिक कन्ट्रोलले पहिलोपटक दिएको सूचनालाई विमानले एटेम्ट गर्न नसकेको स्रोत बताउँछ ।
स्रोतले भन्यो- ‘फरक धावनमार्गबाट विमान अवतरण गर्न खोजिएको देखिँदैमा यसलाई विमान चालकको कमजोरी भनिहाल्न मिल्दैन ।’
तथ्य २- पाइलटले जोगाए पार्किङको ठूलो क्षति
विमान ल्याण्ड गर्ने क्रममा नेपाल एयरलाइन्सको ह्याङगरमा ठोकिन लागेको र रन वेको सेन्टरमा ल्याण्ड भएको भए पनि विमान चालकले पार्किङमा रहेका विमानतर्फ ठोक्किनबाट विमानलाई जोगाएको विमानस्थलका कर्मचारी बताउँछन् । स्रोतले भन्यो – ‘विमानहरु पार्किङ भएकोतर्फ खसेको भए अन्य विमानहरुमा पनि आगो लाग्ने र विमानस्थलमा ठूलो क्षति हुन सक्थ्यो, तर चालकले त्यसतर्फ ठोक्किनबाट जोगाएको देखिन्छ ।’
प्रत्यक्षदर्शीका अनुसार विमानस्थल छेउको घरमा समेत विमान ठोक्किन लागेजस्तो देखिएको थियो । तर, कुनै पनि घरहरुमा क्षति भएन । र, घरहरुमा वा अन्य विमानहरुमा नटोक्किई विमानस्थलको साइडमा पुगेर विमान जल्यो । विमान दुर्घटनाबाट निकै ठूलो मानवीय क्षति भएको छ । तर, संवेदनशील ठाउँमा झरेर जलेको विमानले अन्य संरचनालाई भने क्षति पुर्याएन ।
तथ्य तीन – दमकलभन्दा सेना छिटो
हुन त विमानस्थलका अधिकारीहरुले मिडियालाई दिएको प्रतिक्रियामा कन्ट्रोल रुमले दिएको निर्देशन चालकहरुले नमानेर गलत रनवे पक्डिँदा विमान दुर्घटना भएको दाबी गरिएको छ । यसबारे वास्तविकता खुल्दै जाला । तर, यतिमात्रै भनेर विमानस्थल प्रशासन जोगिने स्थिति देखिँदैन ।
किनभने प्रत्यक्षदर्शीका अनुसार विमानका आगो लागेको ठाउँमा तत्कालै पुग्नुपर्ने दमकलहरु नेपाली सेनाका उद्धारकर्मी पुगेपछि मात्रै पुगेका थिए । आगो निभाउने यन्त्रहरु करिब १० मिने पछि मात्रै त्यहाँ पुगेको प्रत्यक्षदर्शीको दाबी छ ।
विमानस्थलमा विपत व्यवस्थापनसम्बन्धी अभ्यास गरिएको धेरै समय भएको थिएन । तर, जब विपत आइलाग्यो, उद्धार कार्यमा चुस्त व्यवस्थापन हुन सकेको देखिएन । चाँडो उद्धार गर्न सकिएको भए मानवीय क्षति केही कम हुन सक्थ्यो कि र ?
अनलाइनखबरबाट