Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

प्रदेश ४ मा आज मन्त्रिपरिषद गठन

Friday, February 16, 2018 National Power

४ फागुन, पोखरा –  प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सभामुख नेत्रनाथ अधिकारीले शुक्रबार पद तथा गोपनियताको शपथग्रहण गर्दैछन् । शुक्रबार बिहान साढे ९ बजे शपथ ग्रहणको कार्यक्रम राखिएपनि सुरू भएको छैन ।

मुख्यमन्त्री गुरुङले बुधबार नै शपथ ग्रहण गर्ने कार्यक्रम थियो । तर, काकीको रतनकुमारी गुरुङको मंगलबार निधन भएपछि उनको शपथ दुई दिन पछाडि सरेको हो । बिहीबार सभामुख चुनिएकाले सभामुख र मुख्यमन्त्रीको शपथ ग्रहणको कार्यक्रम शुक्रबार सँगै राखिएको प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले जानकारी दिए ।

प्रदेश नम्बर ४ मा वाम गठबन्धनबीच मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई सभामुख दिने गरी भागबन्डा गरिएको थियो । पसभामुखको निर्वाचन फागुन ६ गते तय गरिएको छ । सभामुख र उपसभामुख फरक पार्टी र फरक लिंगको हुनुपर्ने संविधानले व्यवस्था गरेको छ । माओवादीले पुरुष सभामुख बनाएपछि अब उपसभामुख एमालेबाट महिलाले अवसर पाउने छन् । उपसभामुखका लागि एमालेबाट सिर्जना शर्माको नाम चर्चामा छ । त्यस्तै मित्रकुमारी सुवेदी, नरमाया गुरुङ लगायतले पनि आकांक्षा देखाएका छन् ।

मुख्यमन्त्रीको सपथसँगै मन्त्रीमण्डल पनि गठन गर्ने तयारी छ । तर आकांक्षी धेरै भएपछि एमाले र माओवादी दुवैलाई मन्त्री छान्न सकस छ ।एमालेबाट विकास लम्साल, कृष्ण थापा, इन्द्रलाल सापकोटा, राजीव पहारी, लगायत मन्त्रीको टिकट लिने कसरतमा छन् । माओवादीले पाउने २ मन्त्रीमा हरिबहादुर चुमान, दीपक कोइराला, रामजी बराल, दीपक चर्तिमगर लगायत दौडधुपमा छन् ।मुख्यमन्त्रीसहित ५ मन्त्री एमालेलाई र सभामुखसहित २ मन्त्री माओवादीले लिने गरी दुई दलबीच भागबन्डा भएको छ । प्रदेश ४ मा एमालेका २७ सांसद छन् भने माओवादीका १२ सदस्य छन् । कांग्रेसको १५, जनमोर्चाको ३ र नयाँ शक्तिको २ जना प्रदेश सभा सदस्य छन् ।