Wednesday 6th December 2023

    सिविसको आयोजनामा सांसदहरुसँग नीति संवाद    प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक विनीत सिंहको लाइभ शो सम्पन्न    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल

कम्युनिष्टसंग किन डर ?

Monday, February 12, 2018 National Power

मानव अधिकारकर्मी/उषा थपलिया/२९ माघ,काठमाण्डौ – देश केन्द्र र प्रदेशसभा निर्वाचनको संघारमा पस्दै गर्दा एकाएक एमाले र माओवादी केन्द्रले सुरु गरेको चुनाबी गठवन्धन र चुनाव पश्चात बाम एकिकरणको घोषणाले नेपाली काँग्रेसलाई ठूलो झस्का दियो । उक्त कुराले केहिदिन हतास बनेको कांग्रेसले अन्ततोगत्वा बामगठवन्धनसंग जुध्ने शक्ति निर्माण भन्दै आफ्नै नेतृत्वमा लोकतान्त्रिक गठवन्धन प्रारम्भ ग¥यो । परिणामस्वरुप अहिले दुवै गठवन्धनहरु, आफुमा एकत्रित भएका दलहरुसंग चुनावी तालमेल गरी चुनावी प्रचारप्रसारलाई तिब्रता दिईरहेका छन् तर विडम्वना के भने, एक्काईसौं शताव्दीमा लोकतान्त्रिक परिपाटी अन्र्तगत चुनावमा प्रतिस्पर्धा गरिरहेका दलहरु आफ्ना एजेण्डाहरुलाई जनस्तरमा कसरी सभ्यपाराले लाने भन्दा पनि एक अर्काे गठवन्धनप्रति वदख्वाँई गरेर बढी समय खर्च गरिरहेका छन् । चुनावीसभाका मौखिक भाषण मात्र हैन, चुनावकोलागि तयार पारिएको चुनावी घोषणापत्रमासमेत अर्को गठवन्धनप्रतिको कटाक्षमा धेरै शव्द खर्च गरिएको पाईन्छ । विशेषगरी नेपाली कांग्रेसले बामगठवन्धनप्रतिको रोषलाई बढी नै व्यक्त गरिरहेको विश्लेषकहरुसमेत बताउँछन् । नेपालका कम्युनिष्टहरुको वर्तमान चरित्र, उनीहरुले परिमार्जन गर्दै अघि बढेको राजनीतिक सिद्धान्त तथा अवलम्वन गर्दै आएको लोकतान्त्रिक अभ्यासलाई छायाँमा पारेर जनतामा कम्युनिष्ट विरुद्ध डरलाग्दो तस्वीर प्रस्तुत गर्न कांग्रेस लागिपरेको देखिन्छ । बहुदलिय जनवादलाई आफ्नो प्रमुख राजनीतिक सिद्धान्त बनाउँदै लगभग तीन दशकदेखि लोकतान्त्रिक प्रक्रियामा आबद्ध एमाले अनि सशस्त्र द्वन्द्व पश्चात महाधिवेशन मार्फत नै एक्काईसौं शताव्दीको जनवादमा रुपान्तरित भैसकेको माओवादी केन्द्र दुवैको अवको गन्तव्य शास्त्रीय साम्यवादतर्फ फर्कन सक्ने अवस्था विल्कुल देखिदैन न त उनीहरुको सोचाई, जीवन भोगाई, दिनप्रतिदिन प्रचुर वन्दै गएको भौतिकवादी चरित्रले नै यो संभव देखाउँछ । नेपालका कम्युनिष्टहरुको यो आमविशेषता र भविष्यमा उनीहरुको गन्तव्यबारे शिक्षित र चिन्तनशील सवै मानिसहरु जानकार छन् तर नेपाली कांगेस भने यसैलाई गतिलो चुनावी खजाना बनाउन निमग्न देखिन्छ ।
नेपालमा कम्युनिष्ट पार्टी स्थापना लगत्तै यसमा टुटफुटको अध्याय पनि सुरु भयो । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी आजको दिनसम्म आईपुग्दा कति टुक्रामा विभाजन भयो, त्यसको एकिन संख्या निकाल्न सजिलो छैन । सामान्य मतमतान्तरमा पनि पार्टी विभाजनकै तहमा ओर्लने ‘क्रान्तिकारी’ चरित्रले सयौंको संख्यामा कम्युनिष्टहरु पार्टी अध्यक्ष÷प्रमुख बने तर नयाँ पार्टी निर्माणपछि कुनै प्रमुखहरुले पनि विभाजनताका उरालेको क्रान्तिकारी तत्वलाई व्यवहारमा उतार्न सकेको देखिएन । जसका कारण कतिपय अस्तित्वमै नरहने गरी नामेट भए, कतिपय धरमरपारामा अस्तित्व वचाउनकैलागि अझै प्रयासरत छन् भने कतिपय फुटको औचित्य पुष्टि गर्न नसकी फेरी माउपार्टीमै समाहित भएको अवस्था देखिन्छ । २०४६ सालको प्रजातान्त्रिक जनआन्दोलन सफल पार्ने हेतुले नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले विभिन्न दलमा छरिएका बाम घटकहरुलाई संयुक्त मोर्चा बनाउने सुझाव र उत्प्रेरणा दिए ।

जसका कारण कम्युनिष्ट महिला नेत्री सहाना प्रधानको अध्यक्षतामा सात बाम घटकहरुको संयुक्त मोर्चा बन्यो । नेपाली कांग्रेस र बाममोर्चाको अगुवाईमा जनआन्दोलन सफल भएर देशमा प्रजातन्त्र पुर्नवहाली भयो । आन्दोलनपछिको सरकार निर्माण मा पनि दुवैपक्षको सम्मानजनक सहभागिताकालागि गणेशमान सिंहले ठूलो भूमिका निर्वाह गरेका थिए । त्यतिवेला बाम घटकलाई एकत्रित र शक्तिशाली बनाउँदा आन्दोलनको जश र उपलब्धीको दावेदार बाममोर्चा हुनसक्छ भन्ने हीन मानसिकता गणेशमान सिंहभित्र आएन तर अहिले शेरबहादुर देउवा लगायत नेतृत्व पंक्ति, बामप्रतिको ग्रसित मानसिकताले ग्रस्त देखिन्छन् । शासन व्यवस्थाको नाम जेसुकै भए पनि लोकतान्त्रिक पद्धतीमा कम्युनिष्टहरुको वैधानिक प्रवेश भएको त्यतिवेला देखि नै हो । त्यसयता राजनीतिक घटना र परिवेश वदलिदै आए पनि कम्युनिष्टहरुको लोकतन्त्रप्रतिको निष्ठा घटेको देखिदैन । नारामा जे कुरा अभिव्यक्त गरेपनि दशवर्षे द्वन्द्वपश्चात लोकतन्त्र र संसदीय परिपाटीमै माओवादी समेत अभ्यस्त भैसकेको छ ।
गठवन्धनभित्र पनि कांग्रेसको शत्रुता एमालेसंग बढी देखिन्छ । उसले एमालेलाई राष्ट्रिय एकता र समृद्धिको वाधक शक्ति मानेको छ । सत्ता सयरमा संगै रहेको माओवादीप्रति कांग्रेसले विगतमा नरमभाव राख्दै आएपनि एमालेसंगको गठवन्धनपछि भने माओवादीसंग पनि रुष्ठता बढेको स्पष्ट देखिन्छ । एमाले र माओवादी केन्द्र दुवै सुनियोजित तवरबाट संस्थागत भ्रष्टाचारलाई संरक्षित गर्ने पार्टी प्रमाणित भएको कांग्रेसको घोषणापत्रमा उल्लेख छ । एमाले र माओवादी केन्द्रलाई पार्टीगत रुपमा अलग अलग दोषारोपण भन्दा बढी बाम गठवन्धनप्रतिको आक्रोस कांग्रेसको घोषणापत्रमा बढी झल्किएको छ । कांग्रेसको घोषणापत्रमा समेटिएको “कम्युनिष्ट गठवन्धनका नेता र योजनाकारहरुले संविधानका आधारभूत लोकतान्त्रिक मूल्य पद्धती र शासन प्रणालीलाई संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिष्ट पार्टीद्वारा सत्ता नियन्त्रण गर्ने र साम्यवाद स्थापना गर्ने उद्देश्य राखेको” भन्ने बुँदाबाटै उसको मानसिकता स्पष्ट हुन्छ ।

जवकी लोकतन्त्रप्रतिको आफुहरुको प्रतिबद्धता सहित राजनीतिक स्थिरता, सुशासन, सामाजिक न्यायसहितको आर्थिक समृद्धिकालागि बामपन्थी सरकार आवश्यक रहेकोले बाम गठवन्धन जरुरी भएको एमाले र माओवादी केन्द्रले बताउँदै आएका छन् । फेरी सोभियत संघ विघटन तथा पुर्वी युरोपमा कम्युनिष्ट सत्ताको पतन लगायतबाट नेपालका बामहरुले पाठ नसिकी साम्यवादी अधिनायकत्वको दिशामा फर्कन्छन् भन्ने संकेत कतै देखिन्न ।
एमाले र माओवादी केन्द्र पनि कांग्रेस पार्टी विरुद्धमा लागि परेकै देखिन्छ । बाम गठवन्धनको घोषणापत्रमा कांग्रेसलाई आत्मसमर्पणवादी शक्तिको रुपमा लिईएको छ । सामन्ती निरंकुशतन्त्र र वैदेशिक एकाधिकार पुँजीवादसंग सम्झौता र समर्पण कांग्रेसको मुख्य निती भएको आरोप लगाउँदै सत्तामा रहँदा विदेशी हस्तक्षेप निम्त्याएको, निजीकरणका नाममा राष्ट्रिय उद्योगधन्दा र सार्वजनिक संस्थानहरु समाप्त गरेको तथा भ्रष्टाचारलाई संरक्षण गरेको लगायतका आरोपहरु कांग्रेस विरुद्ध लक्षित छन् । चुनावी आमसभामा एकले अर्कोमाथि लगाउने आक्षेप र दोषारोपणतर्फ दलका नेताहरु प्रतिस्पर्धात्मक रुपबाट अघि बढेका देखिन्छन् । सातैवटा प्रदेशमा ठुला चुनावी आमसभा आयोजना गरेर बामगठवन्धन बिरुद्धका कुराहरु जनस्तरमा लैजाने रणनीति अनुसार नेपाली कांग्रेस लागिपरेको देखिन्छ ।
गठवन्धनवीचको रस्साकस्सी जोडतोड देखिए पनि अहिले बढिरहेको दुई ध्रुवीय गठवन्धनप्रति अधिकांश राजनीतिक विश्लेषकहरु सकारात्मक देखिएका छन् । कालान्तरमा यी दुई गठवन्धनहरु शक्तिशाली पार्टीमा रुपान्तरित भएर देशको राजनीतिक स्थिरताकालागि कोशेढुंगा नै सावित हुने विश्वास उनीहरुको छ । जसले गर्दा च्याउ सरहका स साना दलहरु, जो सत्ता परिवर्तनको अंकगणितकालागि भन्दा वाहेक अन्य कुनै प्रभावकारी भूमिकाकोलागि कामयावी हुन सकेका छैनन्, तिनिहरुको विलय दुई गठवन्धन मध्ये एकमा हुने अनि अल्पकालीन सत्ता परिवर्तनको खेल समाप्त हुने संभावनाप्रति अधिकांश आशावादी देखिन्छन् । नेपाली कांग्रेस बाम गठवन्धनप्रति रुष्ट हुँदाहुँदै पनि उसले आत्मसात गर्नुपर्ने कुरा के हो भने उसलाई लोकतान्त्रिक गठवन्धनतर्फ हिडाउने काम बामहरुले नै गरेका छन् ।

नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व घटाउन पनि गठवन्धनको संस्कृतिले निक्कै मद्दत पु¥याएको छ । आफु पनि गठवन्धनकै प्रक्रिया बमोजिम अघि बढिसकेको हुँदा अर्को गठवन्धनप्रति क्षोभ प्रकट गर्नुको कुनै औचित्य रहँदैन । नेपालका राजनीतिक दलहरुबारे शिक्षित र चिन्तनशील समुदाय आफै विचार, विश्लेषण गर्न सक्षम छन्, दल÷गठवन्धन विच हुने आरोप प्रत्यारोपको सहारा लिएर धारणा बनाउनुपर्ने आवश्यकता उक्त समुदायमा देखिदैन । यदि आमसर्वसाधारणलाई आफुतिर तान्नकोलागि गठवन्धन कटाक्षको होड चलेको हो भने त्यस क्रममा प्रयोग हुने क्लीष्ट, लम्वेतान र घुमाउरा जार्गनहरु न जनताले वुझ्दछन् न त त्यसप्रति उनीहरुको कुनै सरोकार र चासो नै रहन्छ । जति पटक राजनीतिक व्यवस्था परिवर्तन भए पनि आफ्नो हैसियत र जीवनस्तर जहाँको तहीँ रहेको यथार्थप्रति नेपाली जनता वास्तवमै दिक्दार छन् । अािर्थक समुन्नती मार्फत देशलाई उँभो लगाउन सक्ने दल तथा शक्तिको पर्खाईमा उनीहरुले धेरै समय गुजारी सके । तसर्थ एकले अर्को गठवन्धनप्रति अर्नगल प्रचारमा लाग्ने तथा चुनावी वातावरणलाई दोषारोपणको उचित अवसर ठान्नुभन्दा विगतका जश, अपजशको भागिदारी स्विकार्दै स्थिर, समतामुलक तथा समृद्ध नेपालकोलागि व्यवहारिक रुपान्तरणयोग्य खाँका पेश गर्नु नै दल र गठवन्धनकोलागि श्रेयस्कर देखिन्छ ।