Thursday 9th May 2024

    इनास अमेरिकाका अध्यक्ष एवम् चलचित्र अभिनेता राहुल केसी पेरिस प्रस्थान    सुवेदीको चलचित्र सतीदेवी साउन ४ देखि प्रदर्शनमा आउने    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड भव्य रुपमा सम्पन्न    भारतीय चलचित्र निर्देशन गर्दै जनकदिप पराजुली    माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार

सडक निर्माणले स्थानीयवासीमा खुशियाली

Friday, January 26, 2018 National Power

१२ माघ ,संखुवासभा – संखुवासभाको व्यापारिक बजार पोखरी हुँदै नुनढाकी जाने सडकको कार्य तीव्रगतिमा अगाडि बढेसँगै स्थानीयवासीमा खुशियाली छाएको छ । उन्नति संस्थाको रु १० करोड ७९ लाख ४२ हजार ४५९ को लागतमा २१ किलोमिटर सडक निर्माण गर्ने जिम्मा पाएका थोदुङ् कुन्सालिङ जेभी कम्पनीले सडक निर्माण कार्यमा तीव्रता दिएको हो । ठेकेदार सीताराम तामाङका अनुसार यो सडक निर्माण गर्दा आफूहरुलाई स्थानीयवासीले समेत साथ दिइरहेका छन् । निर्माण कार्य शुरु गरेको छ महिना नबित्दै ३० प्रतिशतभन्दा बढी काम गर्न आफूहरु सफल भएको उनको दाबी छ ।

चैनपुर नगरपालिकाले सडक निर्माणको कार्यलाई कडाइका साथ अनुगमन गरिरहेकाले गुणस्तरीयता कायम गर्न आफूहरुले समेत निगरानी गरिरहेको चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले बताउनभयो । उक्त सडक निर्माण हुँदा खाँदबारी, चैनपुर, पाँचखपनलगायतका स्थानीयवासीले संखुवासभाको चैनपुर नगरपालिका–१ मा नुनढाकीस्थित प्रसिद्ध तीर्थस्थल तातोपानीलगायत तेह्रथुम, ताप्लेजुङ र चैनपुर नगरपालिका–१ नुनढाकी गुफापोखरीे संगमस्थलमा नेपालमा पाइने ३२ प्रजातिको गुराँसमध्ये २८ प्रजातिको गुराँस फूलको रमणीयस्थल तिनजुरे, मिल्के, जलजले क्षेत्र र ताप्लेजुङसम्मको सहज यात्रा गर्न सक्ने बताइएको छ ।

उक्त सडक सञ्चालनबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्न सक्ने जिल्ला समन्वय समिति, संखुवासभाका प्रमुख सुमन शाक्यले बताउनुभयो । अहिले इस्टिमेटबमोजिम ग्याबियन वाल, नाली निर्माण कार्यका साथसाथै सडक चौडा बनाइ सहजरुपबाट सवारीसाधन आवतजावतमा समेत अवरोध नपुग्ने गरी द्रुतगतिमा निर्माण कार्य भइरहेको प्रमुख खत्रीले बताउनुभयो । सडक निर्माण कार्यलाई तीव्रता दिन साँझको समयपछि मात्र लोड गाडी आवतजावत गर्ने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक हेमन्तकुमार राणाले बताउनुभयो ।

सडक निर्माण कार्य सम्पन्न भएपछि व्यापारिक एवं पर्यटकीय महत्वको चैनपुर बजारबाट पोखरी हुँदै नुनढाकीसम्मका स्थानीयवासीको दैनिक जीवनयापन र स्थानीय उत्पादनको बजार प्रवद्र्धनमा सहजता आउनुका साथै आर्थिक कारोबारमा थप वृद्धि हुनेमा स्थानीयवासी आशावादी छन् ।

अक्षयकोष स्थापना

यसैबीच, खाँदबारी नगरपालिका–७ का भीमकुमारी थापामगरले आफ्नो स्व आमाको स्मृतिमा श्री मंगलादेवी माध्यमिक विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्नुभएको छ । तीन वर्ष अघि स्वर्गिय हुनुभएकी उहाँकी आमा चन्द्रमाया थापामगरको स्मृतिमा रु ५० हजारको छात्रवृत्ति कोष स्थापना गर्नुभएको विद्यालय प्रशासनले जनाएको छ । कोषको ब्याजबाट आएको रकमले हरेक वर्षको एसइइ परीक्षामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने विद्यालयका प्रधानाध्यापक योगेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कोष स्थापना गर्ने भीमकुमारी थापामगरकी स्व आमाले पनि तीन वर्षअघि उहाँका स्व श्रीमान्को नाममा रु ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको थियो । सो अक्षकोषको ब्याजबाट माध्यमिक तहका जेहेन्दार दुई छात्र र दुई छात्राले छात्रवृत्ति पाइरहेकोसमेत प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो ।