Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

वनको आम्दानीबाट शिक्षकलाई पारिश्रमिक

Thursday, January 25, 2018 National Power

 

११ माघ,पाल्पा – रैनादेवी छहरा गाउँपालिका–८, राजापानी आधारभूत विद्यालयका शिक्षकले पारिश्रमिक सामुदायिक वनको आम्दानीबाट लिन बाध्य छन् । विद्यालयमा दश शिक्षकमध्ये चारजना दरबन्दीका शिक्षक, एक बाल शिक्षक, पाँच निजी स्रोतका शिक्षक रहेपछि विद्यालय धान्नका लागि सामुदायिक वनको आम्दानीबाट पाँच शिक्षकको तलब खुवाउन स्थानीयबासिन्दा बाध्य भएका हुन् । सन्तानब्बे घरधुरीका १५० विद्यार्थी उक्त विद्यालयमा अध्ययनरत छन् । तर, स्थानीय तह र जिल्ला शिक्षा कार्यालयको समन्वयको अभावमा ग्रामीण बस्तीका विद्यालयमा दरबन्दी पूर्ण नहुँदा विद्यार्थी र अभिभावक ठूलो मर्कामा छन् ।

स–साना बालबालिकालाई पठनपाठनका लागि अन्यत्र विद्यालयमा पठाउँदा दुई तीन घण्टा भन्दा बढी समय लाग्ने र घना जंगल, भीर तथा ठूला खोलाका कारण अरु विद्यालयमा पठाउन नसकिएपछि निजी स्रोतबाट शिक्षक राख्न आफूहरु बाध्य भएको स्थानीयबासिन्दाको भनाइ छ । वनको आम्दानीबाट शिक्षकलाई केही मात्रामा तलब खर्च जुटाएर विद्यालय धानेका छन् । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा अतिनै विकट क्षेत्र मानिएको राजापानीका मगर जातिका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा निजी शिक्षकका भरमा कक्षा सञ्चालन हुँदै आएको छ । निजी स्रोतका शिक्षकलाई रु तीन हजारदेखि १५ हजारसम्म तलब विद्यालय व्यवस्थापन समितिले तोकेको छ । तलबका लागि दुई तीन वर्षमा सामुदायिक वनले ढले गलेका काठ, दाउरा बिक्रीबाट आएको आम्दानी विद्यालयको कोषमा राखेर शिक्षकलाई तलब खुवाइन्छ ।

गाउँको विद्यालयलाई निरन्तरता दिँदा बालबालिकालाई ठूलो राहत भएको छ भने अभिभावक पनि गाउँको विद्यालयमा सन्तान पढाउन पाउँदा खुसी छन् । यस विद्यालय भन्दा अन्यत्र एक्लै बालबालिका पठाउन सक्ने स्थिति नभएकोे स्थानीयबासिन्दा बताउछन् । राजापानी सामुदायिक वन उपभोक्ता समिति र राजापानी महिला सामुायिक वन उपभोक्ता समितिले मासिक रु ३० हजार शिक्षकलाई वनको आम्दानीबाट तलबको व्यवस्था गर्नुपर्ने वनका उपाध्यक्ष वेदबहादुर रानाले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक देवबहादुर रास्कोटीले विद्यालयमा निजी स्रोतमा शिक्षक राखेर विद्यालय सञ्चालन गर्न निकै समस्या भएको बताउनुभयो । उहाँले जिल्ला शिक्षा कार्यालय र स्थानीय तहले शिक्षकका लागि तलबको व्यवस्था गरिदिन अनुरोधसमेत गर्नुभयो ।

निजी स्रोतबाट न्यून तलबमा शिक्षकलाई टिकाउने समस्या सामुदायिक विद्यालयले झेल्दै आएका छन् ।