Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली

Saturday, January 20, 2018 National Power

६ माघ, जुम्ला – माघ पहिलो सातासम्म हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्न थालेको छ । हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका छन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्को्तिर तुषारोले बाली खाएको छ । खडेरीका कारण केही किसानले खेतगरा नै बाँझो राखेका छन् । लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएकोले अन्न खेर नफाल्न गरा बाँझो राखेको तिला गाउँपालिका–४ जुम्लाकी स्थानीय महिला रत्नसरा कामीले बताइन् । “यो वर्षको खडेरीबाट फेरि पनि दुःखका दिन शुरु हुने भए । भोकमरीको समस्या बढ्ने भयो,” चिन्ता व्यक्त गर्दै कामीले भनिन् । खेतीमा निर्भर हामी जस्ता किसानलाई आकाशले अन्याय गरेको उनको दुखेसो थियो । यसले गर्दा आम्दानीको स्रोत नभएका तर तीनदेखि छ महिनासम्म मात्र खान पुग्ने यहाँका ग्रामीणवासीलाई झनै ठूलो समस्या हुने देखिएको छ ।

तिला–३ जुम्ला जोगीवाडा गाउँका स्थानीय किसान नरबहादुर रावतले आकाशे पानीमा निर्भर हुनुले हिमाली क्षेत्रका नागरिकले वर्ष बिराएर भोकमारीको समस्या भोग्नुपरेको दुखेसो गरे । जाडोमा पानी पर्नुको साटो कालो तुषारोले ढाकिरहेको छ । यसले प्रकाश संश्लेषण प्रक्रियामा असर पुर्याउँदा स्याउ उत्पादनमा क्षति पुग्ने हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख एपी चौरासियाले बताए । मानव गतिविधिका कारण जलवायु र मौसममा परिवर्तन भएकाले यसले पछिल्लो समयमा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नै प्रभाव पारेको उनको भनाइ छ ।

यता जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी बालकराम देवकोटाले यो वर्ष हिउँदेबाली उत्पादनमा गिरावट आउने निश्चित भएको बताए । “माघसम्म यसरी हिमपात नभएको पहिलो रेकर्ड नै हो । हिमपात नहुनुले जौँ, गहुँ र उवा बालीमा मात्र नभई यसले स्याउ बाली उत्पादनमा ह्रास आउने देखिन्छ,” सूचना अधिकारी देवकोटाले भने । उाका अनुसार यहाँको तीन हजार ८०० हेक्टर क्षेत्रफलमा जौँ, दुई हजार १०० हेक्टरमा गहुँ र तीन हजार ३०० हेक्टर जमिनमा स्याउबाली लगाइएको छ । सिञ्चित क्षेत्रको बाली उत्पादनमा आशा भए पनि पाखे जौँ र गहुँबाली नष्ट भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।