Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

कोरियामा ८१ जना नेपाली कामदारको मृत्यु, अनुसन्धानका लागि टोली जादैँ

Monday, January 15, 2018 National Power

१ माघ,काठमाण्डौ – कोरियाले इपिएस परीक्षामार्फत विश्वका विभिन्न मुलुकबाट कामदार झिकाउन लागेको पनि वर्षौ बितिसकेको छ । नेपालबाट कोरियाका लागि काम गर्न जान लागेको पनि ९ वर्ष पूरा भइसकेको छ । यस अबधिमा ८१ जना कामदारको रहस्यमय तरिकाले मृत्यु भएको छ । सन् २०१८ को शुरुमै जनवरी १० मा कोरियाको पुछानमा कार्यरत एकजना नेपाली कामदारको शव आफ्नै कम्पनीको पछाडि झुण्डिएको अवस्थामा भेटियो । शव महोत्तरी बर्दीबासका २५ बर्षीय प्रकाश थापा मगरको रहेको कोरियास्थित नेपाली दुतावासले जानकारी गराएको छ । ७ महिनाअघि मात्रै उनी कोरिया पुगेका थिए । उनले आफूलाई गम्भीर रोग लागेको भन्दै घर फर्किने टिकट पनि काटिसकेका थिए ।

उनले आत्महत्या गरेको बताइए पनि स्थानीय प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको छ । ईपीएस नेपालको तथ्याङ्कअनुसार २००८ मा ईपीएस प्रणाली शुरु भएदेखि अहिलेसम्म दक्षिण कोरियामा ८१ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । ९ वर्षको अवधिमा यसरी ज्यान गुमाएकामध्ये सुतेको समयमा मृत्यु हुनेको संख्या १८ रहेको छ भने आत्महत्या गर्नेको संख्या पनि उत्तिकै रहेको छ । आत्महत्याबाट ज्यान गुमाउनेको संख्या १७ रहेको ईपीएस शाखाका अधिकृत शोभाकर भण्डारीले बताए । त्यसबाहेक कम्पनीमा भएका दुर्घटनामा १० जना, सडक दुर्घटनामा ७ जना, साथीसँगको आपसी झगडामा २ जना, स्वभाविक ढङ्गबाट १ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । बाँकी २६ जनाको मृत्युको कारण भने नखुलेको अधिकृत भण्डारीले बताए ।

ईपीएसले के पहल गर्दैछ ?

आत्महत्याको क्रम नरोकिएपछि रोकथामका उपाय सुरु गर्न ईपीएस नेपालले पहल थालेको छ । यसैविषयमा केहिदिन अगाडि काठमाडौंमा कार्यशाला सम्पन्न गरेको ईपीयसले यसै महिनामा मनोरोग विशेषज्ञ तथा मुटुरोग विशेषज्ञको टोली कोरिया पठाउने भएको छ । विशेषज्ञको टोलीले त्यहाँका नेपाली कामदारसँग अन्तरक्रिया गर्नुका साथै उनीहरुको मनोभाव बुझ्ने तथा स्वास्थ्य अवस्थाको जाँच गर्ने भएको छ । त्यसबाहेक कामदारका निम्ति चेतना र मनोवल बढाउने विभिन्न कार्यक्रमहरु गरिने ईपीएस नेपाल प्रमुख खतिवडाले बताए ।

तलब सुविधाको दृष्टिले आकर्षक रोजगार गन्तब्यको रुपमा हेरिएको दक्षिण कोरियामा नेपाली कामदार औपचारिक रुपमा जान थालेको ९ वर्ष पूरा भएको छ । सन् २००८ बाट एम्प्लोईमेन्ट परमिट सिस्टम (ईपीएस नेपाल) तथा ह्यूमन रिसोर्स डेभलपमेन्ट (एचआरडी) कोरियाको संयोजनमा नेपाली कामदारहरु औपचारिक रुपमा कोरियामा रोजगारका लागि जान लागेका हुन् । सन् २००८ देखि २०१७ सम्ममा वैधानिक रुपमा रोजगारका लागि कोरिया जाने नेपालीको संख्या ५० हजार १ सय ९८ पुगेको छ । २०१७ मा भएको भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तिर्ण भएका छन् । उनीहरुमध्ये १० हजार २ सय जनाले कोरियामा रोजगार पाउनेछन् ।