२१ पुस, रुपन्देही – शुक्रबार विहानै बसन्त पौडेल बलु देवदहमा रहेको आफ्नो फर्निचरमा आगो तापिरहेका थिए । काठको अडर छ भन्दै दुई जना मोटरसाइकलमा आए । उनीहरुमध्ये एकसँग कागजको टुक्रा पनि थिए ।
तर, बलुलाई के थाहा ! ग्राहक बनेर आएका उनीहरुले आफ्नै हत्या गर्छन् भनेर । अर्डर गर्ने नाममा नजिकै पुगेका उनीहरु मध्ये एकले गोली हाने र मोटरसाइकमै भागे ।
घाउको र छातीमा गोली लागेर ढलेका बुललाई तत्काल लुम्बिनी अञ्चल अस्पताल पुर्याइयो । तर, निकै नजिकबाट गोली लागेका उनको बाटोमा नै मृत्यु भइसकेको रहेछ ।
हत्यामा मनोजको संलग्नता !
मृतक बलु एमाले क्षेत्रीय कमिटीका अध्यक्ष निलकण्ठ पौडेलका छोरा पनि हुन् । ४० वर्षीय पौडेल दुर्गा तिवारीका साथी पनि हुन्, जसको गत वर्ष हत्या भएको थियो ।
पौडेलमाथि गोली प्रहार भएको केहीबेरमै बुटवलका सञ्चारकर्मीहरुलाई फोन आयो । आफू मनोज पुन भएको र हाल मलेसियामा रहेको भन्दै उनले हत्याको जिम्मा लिए ।
दुर्गा तिवारी हत्याकाण्डमा आफ्ना केटाहरुलाई बलु पौडेलले अनाबश्यक दुःख दिएको र फसाएकोले त्यसको वदलामा हत्या गरेको मनोजको जिकीर गरे ।
मनोज पुन तिनै हुन्, जो तिवारी हत्याकाण्डपछि फरार छन् । व्यवसायी शरद गौचनको हत्यामा पनि उनको संलग्नता देखिएको भन्दै प्रहरीको उनको खोजी गरिरहेको छ ।
बुटबल प्रहरी प्रमुख डीएसपी पवन भट्टराईले भने हत्यामा पुनको संलग्नता प्रष्ट भइनसकेको बताए । उनले भने, ‘यति धेरै सञ्चारकर्मीहरुलाई फोन गरेर हत्याको जिम्मा लिएका छन् भने उनी पनि अनुसन्धानको दायरमा पर्छन् ।’
बुटबल र देबदह तनावग्रस्त
घटनापछि युवासंघ रुपन्देही आन्दोलित भएको छ । संघले शुक्रबार नै बुटवलमा २ घण्टा चक्काजाम गरेको छ भने बैठक बसेर थप आन्दोलन घोषणा गर्ने बताएको छ ।
घटनाको सत्यतथ्य अनुसन्धान, हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्नु पर्ने संघको माग छ ।