Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

मतपेटिका सुरक्षामा उम्मेदवार र कार्यकर्ताको पनि ड्युटी

Tuesday, November 28, 2017 National Power

१२ मंसिर, नुवाकोट –  दुई चरणको निर्वाचनका कारण मंसिर १० गते सकिएको नुवाकोटको निर्वाचनको मतगणना दोस्रो चरणको मतदान सकिएपछि अर्थात मंसिर २१ देखि हुनेछ । तत्काल गणना नहुने भएपछि मतदाता, कार्यकर्ता र उम्मेदवारलाई धैर्य गर्न गाह्रो भएको छ । मतपेटिकालाई १० दिनसम्म सुरक्षित राख्न जिल्ला स्थित सुरक्षा निकाय र जिल्ला निवार्चन कार्यालयलाई हम्मेहम्मे परेको छ । प्रतिनिधि सभाको लागि दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा दुवै क्षेत्रको मतपेटीका फरक फरक स्थानमा राखिएको छ । क्षेत्र १ को मतपेटिका सदरमुकाम विदुरस्थित जिल्ला सहकारी डिभिजन कार्यालयमा र क्षेत्र २ को नजिकैको कोष तथा लेखा नियन्त्रणको कार्यालयमा राखिएको छ ।

मतपेटिकालाई जिल्ला सहकारी डिभिजन कार्यालयको कोठामा राखेर झ्यालढोका बन्द गरी सिलबन्दी गरिएको छ । त्यस अघिल्तिर हतियारधारी एक प्रहरी जवानले पालैपालो चौबिसै घण्टा पहरा दिइरहेका छन् भने अर्का घेरामा १५ सशस्त्र र ५ नेपाल प्रहरीका जवानको घेराले पहरा दिन थालेको छ । त्यसका साथै उम्मेदवारका प्रतिनिधि र राजनीतिक दलका नेताहरुलेपनि मतपेटीलाई पहरा दिइरहेका छन् ।

मतपेटिका राखेको भवनको परिषरमा उम्मेदवार तथा प्रतिनिधिले २४ सैं घण्टा पहरा दिन थालेका छन् । उनीहरु रातीको समयमा पनि त्यहीँ बस्न थालेका छन् भने उनीहरुलाई बस्नका लागि मुख्य निर्वाचन अधिकृतले छुट्टै स्थानको व्यवस्था गरेको छ । सके आफू नै उपस्थिति हुने र नभएमा आफ्नो प्रतिनिधि मतपेटिका रखेको स्थानमा पठाउने गरेको गठबन्धनका तर्फबाट क्षेत्र १ का प्रतिनिधिसभा उम्मेदवार हितबहादुर तामाङले बताए । २ को प्रदेश सभा ‘क’का उम्मेदवार जगदीश्वरनरसिंह केसीले प्रहरी प्रशासनको सुरक्षा भरदर्पो रहेपनि सुरक्षाका दृष्टिले संवेदनशील रहेकोले निगरानी बढाएको बताए ।  उम्मेदवारहरुका अनुसार राजनीतिक दल र कार्यालकर्ताको दृष्टि मतपेटिका सुरक्षामै केन्द्रित रहेको छ । सदरमुकाम विदुरमा आइतवार राती नै ल्याइएको मतपेटिकाको सुरक्षाका लागि सुरक्षा निकाय जत्तिकै उम्मेदवार र उनीहरुका प्रतिनिधि अग्रसर छन् । उनीहरुको मतपेटिका राखेको भवनको छेउछाउमा बाक्लो भिड लाग्ने गरेको छ । दलहरूले पालैपालो मतपेटिकाको निगरानी गर्नका लागि कम्तीमा डेढ सय कार्यकर्ताको सूची बनाएका छन् ।

मतपेटिका भने सकेसम्म बाहिर बाटै देख्न सक्ने गरी बन्द कोठामा सुरक्षित राखिएको छ । साथै थप सुरक्षाको लागि सीसी क्यामेरा जडानको लागि समेत छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले जानकारी दिए । श्रीनाथ गणका प्रमुख सेनानी रोहित गुरुङका अनुसार मतपेटिका राखेको सरकोको वरपरका घरको छतबाट सेनाले सेन्ट्री दिनेदेखि बाटामा दिनरातै गस्ती पनि निरन्तर गरिरहनेछ ।मतदानको अघिल्लो दिन शनिबार जिल्ला निर्वाचन कार्यालय परिसरमा बेफ फेला परेकोले पनि नुवाकोट सुरक्षाका दृष्टिले निकै संवेदनशील मानिएको छ । त्यस्तै मंसिर १० गते मतपेटिका ल्याइँदै गरेको गाडीलाई लक्षित गरेर तुप्चेमा बम प्रहार भएको थियो । निर्वाचन प्रचारमा क्रममा नुवाकोटमै कांग्रेस उम्मेदवार डा। रामशरण महतको गाडी विद्युतीय धरापमा परेको थियो । बम विफोष्टनका श्रृङ्खलाको बीचमा जिल्लाबाट संकलन भएको मतपेटिकालाई प्रशासनले कसरी सुरक्षा दिन्छ भन्ने प्रश्न यहाँको मतदाताहरुमा रहेको छ ।