६ मंसिर, चरिकोट – दोलखाका पूर्व सांसद तथा सङ्घीय समाजवादी पार्टीका वरिष्ठ नेता जीतवीर लामाले प्रदेश सभा निर्वाचनमा नेकपा मालेका तर्फबाट दोलखा प्रदेशसभा ख का उम्मेदवार लालकुमार केसीलाई समर्थन गर्र्दै सबै प्रकारले सहयोग गर्ने घोषणा गरेका छन् ।
लामाले दोलखा सदरमुकाम चरिकोटमा आज पत्रकार सम्मेलन गरि निर्वाचनमा सहयोगको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै लामाले दोलखामा एमालेको नेतृत्त्व तह र केन्द्रीय तहका नेताहरुबाट क्षेत्र नं .२ का जनतामाथि लादिएको अन्यायपूर्ण निर्णयको अवज्ञा गर्नको लागि केसीलाई समर्थन र सहयोग गरेको बताए । दोलखा एमालेका संस्थापक नेता लालकुमार केसी अन्यायमा परेको भन्दै लामाले ईमान्दार नेताहरुलाई पाखा लगाउनु एमालेको पतन र सर्वनाशको बिन्दुको प्रारम्भ भएको बताए । हिजो ईमान्दार नेता कार्यकर्तालाई पाखा लगाउँदा जसरी माओवादीको पतन भएको थियो त्यसरी एमाले पतनको सुरुवात भएको बताउँदै लामाले एमाले पार्टीको नेतृत्त्व र प्रभुत्व वर्गले दोलखा क्षेत्र नं. २ स्रोत साधनलाई आफ्नो हातमा लिएर यहाँको प्राकृतिक एवम् मानवीय सम्पदा माथि दोहन गरिरहेको आरोप लगाए । उनले यस क्षेत्रमा जस्ले जितेपनि क्षेत्र नं. २ कै भूमिपुत्रले जित्नुपर्ने समेत बताए ।
लामाले नेकपा मालेको हँसिया तारा चिन्हमा भोट हालेर केसीलाई जिताउन अपिल गर्दै केसी जिल्ला विकास समिति दोलखाको सभापति हुँदा बनाएको ‘जलशक्ति, पर्यटन, बन, कृषि र बाली–शिक्षा, स्वास्थ्य र यातायातले समुन्नत दोलखाली’ भन्ने नारालाई मुर्त रुप दिन केसीलाई जिताउन आवश्यक रहेको बताए । पत्रकार सम्मेलनमा नेकपा मालेका उम्मेदवार लालकुमार केसीले आफू दोलखा एमालेको संस्थापक पार्टी प्रमुख भएको र आफ्नो कार्यकालमा कसैलाई लाखापाखा नगरेको बताए । आफूले व्यक्तिगत स्वर्थको लागि पार्टी छाडेर चुनावमा उठेको नभई जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्नको लागि उम्मेदवारी दिएको बताए । लामाको समर्थन ले केसी लाई चुनावमा थप बल पुग्ने जानकारहरु बताउँछन् ।