२ मंसिर,काठमाण्डौ – समानुपातिक तर्फको ३३० सीटका लागि बन्दसूचीमा ४९ दलका ६ हजार ९४ जनाले उम्मदेवारी दिएका छन् । निर्वाचन आयोगले शुक्रबार साँझ समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको हो । प्रदेशसभा सदस्य समेतका लागि बन्दसूची बुझाउने दलको संख्या ५३ रहेको छ । आयोगले सार्वजनिक गरेको बन्दसूचीमा, आदिबासी पुरूष ७८३ र महिला ९३१ जना छन् । त्यसैगरी खस आर्यतर्फ पुरूष ८६७ र महिला ९९७ छन् । त्यस्तै थारू समुदायबाट पुरूष १५८ र महिला २६२ जना छन् भने दलित उम्मेदवारहरु पुरूषतर्फ ३४२ र महिलातर्फ ४९६ जना छन् । त्यस्तै मधेसी समुदायबाट पुरूष ४५५ र महिला ५६३ जना बन्सूचीमा समेटिएका छन् ।
मुस्लिम समुदायबाट पुरूष ८१ र महिला १५७ जना बन्द सूचीमा परेका छन् । त्यसैगरी, अपाङ्गता भएका पुरूष १५८, महिला ११५ र अन्य १ तथा पिछडिएका क्षेत्रका पुरूष १०७ र महिला १२२ जनाको उम्मेदवारको नाम बन्दसूचीमा परेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारमाथि दावी विरोध गर्न मंसीर २४ गतेसम्मको समय तोकि दिएको छ । त्यसपछि छानवीन गरी मंसीर ३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने पनि आयोगले जनाएको छ । निर्वाचन कानुनले तोकिदिएको क्लष्टर भित्र रहेर राजनीतिक दलहरुले उम्मेदवारको संशोधित सूचि बुझाएपछि आयोगले त्यसको विवरण सार्वजनिक गरेको हो । आगामी मंसीर १० र २१ गते २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।