Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

विद्यालय निर्माण गर्न आएको विदेशी टोली संस्कृतिबारे जानकारी लिई फर्कियो

Friday, October 27, 2017 National Power

१० कार्तिक,काठमाण्डौ – भूकम्पप्रतिरोधी विद्यालय भवन निर्माणका लागि चार दिनअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ सिसैया पुगेको विदेशी टोलीका सदस्य यहाँको संस्कृति र कलाबारे जानकारी लिई बिहीबार फर्किएका छन् । टोलीका सदस्यले मंगल आधारभूत विद्यालयको तीनकोठे भवन निर्माणका लागि श्रमदानसँगै स्थानीय बासिन्दासँगै बसेर संस्कृति, रहनसहन, पहिरन, परम्परागत नृत्य र गहनाबारे जानकारी लिएर फर्किएका हुन् ।

विल्डवन नेपालको सहयोगमा बन्न लागेको तीनकोठे विद्यालय भवन निर्माणमा श्रमदान गर्न पुग्नुभएका दुबई केयरका सिइओ अब्दुल्लाहले नेपाली संस्कृतिमा समृद्ध हुनुका साथै नेपाली नागरिक मेहनतीसमेत रहेको बताउनुभयो । यहाँको सीप र ज्ञानबारे जानकारी लियौँ, उहाँले भन्नुभयो, “हामीले सिकेको सीप सिकाउन पाउँदा खुशी लागेको छ ।” श्रमदान गर्न आएको विदेशी टोलीका सदस्यलाई स्थानीय बासिन्दाले थारु समुदायको परम्परागत पहिरनमा छोक्रा, सखिया र पहाडी समुदायको देउडा नाच देखाएका थिए ।

विदेशी टोलीका सदस्यले समेत स्थानीय पहिरन लगाएर नाचमा साथ दिएका थिए । संस्कृतिमा समृद्ध नेपालले पर्यटकको मन लोभ्याउनसक्ने भएकाले यसको प्रचारप्रसारमा जोड दिनुपर्ने टोलीका सहभागी मोना मक्सुदले बताउनुभयो । “प्राकृतिक सम्पदामा सम्पन्न देश भएकाले यसको सदुपयोगमा लाग्नुपर्छ”– उहाँले भन्नुभयो । शुक्लाफाँटा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष बहादुर महराले विदेशी पाहुना टोलीले घरकै वातावरणमा अथक परिश्रम गरी विद्यालय निर्माणको कार्य गरेकामा प्रशंसा गर्नुभयो ।

“विदेशी टोलीको कार्यबाट पाठ सिक्दै नेपालीले पनि श्रम गरेर सार्वजनिक भौतिक निर्माणका कार्यमा योगदान दिन सक्नुपर्छ”– उहाँले भन्नुभयो । बिदाइ कार्यक्रममा विद्यालयका बालबालिकाका लागि विदेशी पाहुना टोलीका सदस्यले विभिन्न प्रकारका शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरे । चार दिनको अवधिमा विदेशी टोलीका सदस्यले भवन निर्माणका लागि जग खन्ने, ढुंगा बोक्ने, बालुवा ओसार्ने र सिमेन्टको गारो लगाउने, फलामका डन्डी काट्ने, बाँध्ने लगायतका कार्य गरेका थिए ।

टोलीमा विभिन्न देशका २२ जना विदेशी महिला पुरुषको सहभागिता रहेको थियो । भूकम्पप्रतिरोधी विद्यालय भवन रु २५ लाखको लागतमा निर्माण गरिनेछ । विद्यालय भवनमा तीन कोठा र दुईवटा शौचालय निर्माण गरिनेछन् । विद्यालय निर्माणको कार्य १०६ दिनमा सकिनेछ ।