Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

बाम गठबन्धन द्धारा बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फेर्ता गर्न आग्रह

Tuesday, October 24, 2017 National Power

७ कात्तिक, काठमाडौं –  पार्टी नीतिविपरीत उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन वाम गठबन्धनले आग्रह गरेको छ । बृहत् लक्ष्यका साथ चुनावी तालमेल र पार्टी एकताको समेत निर्णय भएको दाबी गर्दै गठबन्धनमा सहभागी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले बागी उम्मेदवारी दिएका जुनसुकै उम्मेदवारले तोकिएको समयभित्र नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा आइतबार उम्मेदवारी दर्ता गराउने क्रममा केही जिल्लामा बागी उम्मेदवारी दर्ता गराएका छन् । जाजरकोट, रामेछाप, हुम्ला, बझाङ, मनाङलगायतका जिल्लामा बागी उम्मेदवारी दिएका छन् । दुवै पार्टीले मंगलबारसम्म आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्ताले फिर्ता लिने विश्वाससमेत लिएका छन् । जाजरकोटमा वाम गठबन्धनका आधिकारिक उम्मेदवार शक्ति बस्नेतविरुद्ध एमालेका नेता गोविन्दविक्रम शाहले उम्मेदवारी दिएका छन् ।

यस्तै रामेछापमा माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार श्रेष्ठविरुद्ध लक्ष्मी गुरुङ, प्रदेश सभामा एमालेका शान्ति पौडेलविरुद्ध माओवादीका हेमन्त पौडेल र कैलाश ढुंगेलविरुद्ध माओवादीका मैनकुमार मोक्तानले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै हुम्लामा माओवादी केन्द्रका उम्मेदवार छिमी लामाविरुद्ध छक्कबहादुर लामा र सोनामग्याजेन लामाले उम्मेदवारी दर्ता गराएका छन् । मुगुमा गठबन्धनको उम्मेदवारीविरुद्ध माओवादी केन्द्रका स्थानीय नेताले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै रुकुम पूर्वमा पनि वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी परेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार कमला रोकाविरुद्ध तेजेन्द्र खाम मगर र प्रदेश सभाका सदस्यका लागि निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तेजबहादुर ओलीविरुद्ध पूर्णिराज घर्तीको उम्मेदवारी परेको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका सबैलाई मंगलबारसम्म फिर्ता लिन आग्रह गरिएको जानकारी दिइन् । उनले भनिन्, ‘केही साथीहरुलाई चित्त नबुझेको अथवा तलमाथि भएको भन्ने परेको हुन सक्छ, उहाँहरुलाई कहीँ न कहीँ व्यवस्थापन गर्ने विषयमा पार्टीले सोचेको छ । पार्टीको सिपाही भएका नाताले उहाँहरुले उम्मेदवारी फिर्ता लिनुहुन्छ भन्ने विश्वास लिएका छौँ ।’

पार्टी एकता र वामपन्थी दलहरुबीचको तालमेल गर्दा पार्टीका तर्फबाट दाबेदार रहेका तर उम्मेदवार हुन नपाएकालाई धैर्य र संयमित हुन एमालेले आग्रह गरेको छ । एमालेले आगामी दिनमा त्यस्ता नेता तथा कार्यकर्तालाई प्राथमिकतामा राखेर निर्णय गर्नेसमेत बताएको छ ।केही दिन पहिलेको स्थायी समितिको बैठकले पार्टीको आधिकारिक लाइनविपरीत नजान नेता तथा कार्यकर्तालाई आग्रह गरिसकेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले केही जिल्लामा समस्या रहे पनि मंगलबारसम्म एमालेका तर्फबाट बागी उम्मेदवारी दिएका सबैको फिर्ता हुने जानकारी दिए । नेता श्रेष्ठले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरिएको स्थानमा माओवादी केन्द्रका तर्फबाट दर्ता भएका बागी उम्मेदवारी फिर्ता हुने विश्वास व्यक्त गरे ।