Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

तिहार सुरु, पहिलो दिन आज काग तिहार

Tuesday, October 17, 2017 National Power

३१ असोज, काठमाडौं – नेपालीको दोस्रो ठूलो चाड तिहार मंगलबारदेखि सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु भएको तिहार कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ ।

तिहारको पहिलो दिन मंगलबार काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २ गते बिहीबार कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कात्तिक ३ गते शुक्रबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवर्द्धन पूजा, किसान पूजा तथा नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात नेपाल संवत् ११३८ र म्हपूजा अर्थात् आत्मपूजा एवम् कात्तिक ४ गते शनिबार कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।

यमराज पनि पाँच दिन आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ ।
आज काग तिहार
यमपञ्चकको पहिलो दिन मंगलबार कागलाई मीठो मीठो खाना चढाएर काग तिहार मनाइँदैछ । वैदिक मान्यतानुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । आजको दिन कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दु धर्मानुसार कागलाई यमदूत मानिन्छ ।
आजैका दिनदेखि यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यमदीप दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि छ । यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्यानुसार बेलुकामा यमदीप दान गरिन्छ ।  लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलीमिली बनाउने परम्परा पनि अहिले तिहारको शुरुआतदेखि नै गर्न थालिएको छ । अझ कतिले त एक हप्ताअघिदेखि नै दीपावली गरी तिहारलाई अग्रिम आमन्त्रण गर्ने गरेका छन् । यसकारण तिहारलाई उज्यालोको पर्वका रुपमा समेत चिनिन्छ ।

तिहारको विकृतिका रुपमा पटाका पड्काउने प्रचलन छ जसका कारण दुर्घटना बढ्न थालेको छ । यस मौसममा सयपत्री, मखमली र गोदावरी जस्ता फूल फुल्छन् । तिहारको अन्तिम दिन कात्तिक ४ गते कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीबाट दाजुभाइलाई दीर्घायु र सुखशान्तिको कामना गर्दै टीका लगाइन्छ जसलाई भाइटीका भनिन्छ ।
यस वर्ष कात्तिक ४ गते बिहान ११ बजेर ५१ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ । भाइटीकाका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइत खोज्नेका लागि यो साइत शुभ रहेको अध्यक्ष प्रा डा गौतमले बताउनुभयो ।
धन्वन्तरि जयन्ती
वनजंगलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवत्र्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा मंगलबार धन्वन्तरि जयन्ती मनाइँदैछ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक हिन्दू शास्त्रमा गरिएको छ ।
आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । विसं १९७४ मा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो । त्रिविको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ ।
आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा विसं २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।
धन्वन्तरि जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड।, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लि कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।
धनतरेस
कार्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ । धनतरेससमेत भनिने आजका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलन छ ।