३१ असोज,म्याग्दी – बेनी अस्पतालमा दैनिक हुने फोहरको उचित व्यवस्थापनमा जर्मनबाट आएका दुई मेडिकल इन्जिनियरले सघाइरहेका छन् । करिब तीन साता अगाडि नेपाल आएका जर्मनको एक विश्वविद्यालयमा मेडिकल इन्जिनियरिङमा अध्ययरत मेक्सिमिलियनल र एन्टोनियाले अस्पतालभित्र दैनिक संकलन गरिने फोहरको वर्गीकरण र विसर्जनको विधिसहित अन्तर्राष्ट्रिय मापदण्डको फोहर विसर्जनका लागि इन्सिनेटर प्रविधि जडान गरेका छन् ।
जर्मनको एक गैरसरकारी संस्था र बेनी अस्पतालको संयुक्त लगानीमा जर्मन र भारतमा निर्मित सो प्रविधि उपयोगमा ल्याउनुका साथै अस्पतालभित्र जलाउन मिल्ने र नमिल्ने फोहरको वर्गीकरण र विसर्जन गर्ने तरिका, फोहर संकलन गर्दा अपनाउनुपर्ने विधिलगायतका विषयमा चिकित्सक, स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई तालीमसमेत दिइएको अस्पताल प्रमुख डा रोशन न्यौपानेले बताउनुभयो ।
अस्पतालमा गुणस्तरीय सेवासँगै सफा र सुन्दर बनाउने अभियानमा चिकित्सक समेत मासिकरूपमा सरसफाइ अभियानमा संलग्न भएपनि र विभिन्न संघसंस्थाबाट समेत सहयोग भएपनि व्यवस्थापनमा देखिएको समस्याले दिगो हुन नसकेको अवस्थामा इन्सिनेटर प्रविधिको प्रयोगले सहज बनाएको सम्बद्ध चिकित्सकको भनाइ छ ।