Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

को थियो गौचनको हत्यारा ?

Wednesday, October 11, 2017 National Power

२५ असोज,काठमाडौं  – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको एक दिन बितिसक्दा पनि प्रहरीले अपराधीबारे कुनै सुइँको पाउन सकेको छैन । सोमबार दिउँसो घरबाट गाडी चढेर निस्केका गौचनको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । गोली हानेलगत्तै दुई युवा मोटरसाइकल चढी बेपत्ता भएका थिए ।प्रहरीले गौचनको हत्यामा सार्प सुटरको प्रयोग भएको हुन सक्ने अनुमान गरेको छ । छाती र पेटमा लगातार तीन गोली प्रहार भएलगत्तै अचेत भएका गौचनको अस्पताल नपुग्दै मृत्यु भएको थियो ।

असुली धन्दामा सक्रिय गुन्डा समूहबाट चन्दा नदिएको निहुँमा हत्या गरेको हुन सक्ने अनुमान गरिए पनि हत्याको विन्दुसम्म पुग्नुअघि समूहले गौचनलाई कसरी सताएको थियो भन्नेबारे प्रहरीले पत्तो पाएको छैन । गुलाबी रंगको टिसर्ट र हेल्मेट लगाएका अधबैंसे युवाले हत्या गरेको भन्ने सूचनाबाहेक अपराधीबारे कुनै जानकारी छैन । प्रहरीले गौचनको मोबाइल संवाद र एसएमएस डिटेल केलाएर घटनामा कसको संलग्नता थियो भनेर पत्ता लगाउने प्रयास थालेको छ ।

हत्यामा भारतमा बसेर व्यवसायीसँग चन्दा असुली गरिरहेको मनोज पुन समूहको संलग्नताको आशंका गरिए पनि यसको पनि कुनै भरपर्दो आधार फेला परिसकेको छैन । गत वर्ष व्यवसायी एवं युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरेपछि पुनको समूह चर्चामा आएको थियो । उनको समूहमा काठमाडौंको बाफल क्षेत्रमा प्रभाव जमाएका भनिएका समीरमान बस्नेत, तिब्बती शरणार्थीका रूपमा भारतको धर्मशालामा बस्ने लोप्साङ लामा छन् ।

गौचनको हत्यालगत्तै लोप्साङले केही प्रहरी अधिकारीलाई फोन गरेर घटनाको जिम्मेवारी लिएको स्रोतले जनायो । यही समूहले सोमबार अन्य केही निर्माण व्यवसायीलाई पनि इन्टरनेट कलमार्फत धम्की दिएको सूचना प्रहरीमा पुगेको छ । गत चैतमा गौरीघाटको एक फिटनेस क्लबमा रहेका गुन्डा दावा लामामाथि गोली हानेको घटनामा पनि लोप्साङले जिम्मेवारी लिएका थिए । लामा र गौचन दुवैमाथि उस्तै प्रकृतिले गोली हानिएकाले पनि प्रहरीले पुनको समूहको संलग्नता हुन सक्ने प्रारम्भिक अनुमान गरेको हो ।

प्रहरीले अझैसम्म पनि गौचनको हत्यामा प्रयोग भएका तीनवटा गोलीका खोकालाई परीक्षणका लागि पठाएको छैन । बानेश्वर वृत्तका डीएसपी रवीन्द्र पौडेलले गोलीका खोका बुधबारमात्रै प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइने बताए । परीक्षणपछि गोली कुन बन्दुकबाट हानिएको थियो र कति क्यालिबरको थियो भन्ने पत्ता लाग्नेछ ।

गौचनको हत्या भएकै साँझ प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालयले छुट्टाछुट्टै अनुसन्धान समिति गठन गरेका थिए । प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेतको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान टोली बनाएको थियो । महानगरीय प्रहरीले पनि महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीको नेतृत्वमा ५ सदस्यीय नै छानबिन समिति गठन गरेको थियो । तर त्यसको भोलिपल्टै प्रधान कार्यालयले उक्त घटनामाथि अनुसन्धान गर्न भन्दै डीआईजी गणेश केसीको नेतृत्वमा अर्को विशेष टोली गठन गरेको छ ।

प्रहरी प्रवक्ता मनोज न्यौपानेले अनुसन्धान गर्ने टोलीमा काठमाडौं प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी कार्यालयका अनुसन्धान अधिकारी पनि सामेल रहेको बताए । प्रवक्ता न्यौपानेले भने, ‘घटनाको गम्भीरताका आधारमा विशेष टोली गठन गर्नुपरेको हो । टोलीले सबै शक्ति र सामथ्र्य प्रयोग गरेर अनुसन्धान गर्नेछ ।’ डीआईजी केसी नेतृत्वको टोलीमा ब्युरोका एसएसपी बस्नेत, महाशाखाका एसएसपी लोहनी, तीन डीएसपी र एक इन्सपेक्टर छन् । डीआईजी केसीले अनुसन्धान सुरु भइसकेको र प्रारम्भिक सूचनाहरू हात पारिसकेको जनाए । उनले भने, ‘अनुसन्धानलाई तीव्रता दिइएको छ, छिट्टै केही नतिजा हात पर्नेछ ।’ कान्तिपुरबाट