१५ भदौ, काठमाडौं – माओवादी केन्द्रका निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन बुधबार भएको निर्वाचनको मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा बिहान ९ बजेदेखि मतगणना सुरु गर्न लागिएको निर्वाचन संयोजक रमेश मल्लले जानकारी दिए । सुरुमा केन्द्रीय सदस्यको र त्यसपछि पदाधिकारीको मतगणना हुनेछ । पहिलोपटक निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्न लागेको अखिल क्रान्तिकारीको बुधबार साँझ ७ बजेसम्म मतदान भएको थियो । मतदान सकिएलगत्तै गणना गर्ने भनिए पनि प्राविधिक कारणले गणना सुरु हुन सकेको थिएन । अखिल क्रान्तिकारीको अध्यक्षको चुनावी मैदानमा अनिल शर्मा र रञ्जित तामाङ छन् ।