१४ भदौ, काठमाडौं – निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्र निर्धारणको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ ।
झण्डै ३५ दिन काम गरेपछि आयोगले १ सय ६५ संघीय र ३ सय ३० प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गरेको छ । आयोगका सदस्य माधव अधिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको समय मिल्नासाथ प्रतिवेदन बुझाइने जानकारी दिए ।
आयोगले संविधान बमोजिम संघीय र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गरेको हो । गएको साउन ५ गते गठन भएको आयोगले ११ साउनदेखि औपचारिक रूपमा निर्वाचन क्षेत्र निर्धारणको काम सुरु गरेको थियो । काम सुरु गरेको २१ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने शर्त पाएको आयोगलाई सरकारले फेरि साउन ३१ गते १५ दिन समय थप गरेको थियो । आयोगले जनसंख्या र भूगोललाई आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गरेको छ । संविधानमै जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिने उल्लेख छ ।