१२ भदौ, कैलाली – सुदूरपश्चिम दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर डडेल्धुरा, बझाङ, बाजुरा र डोटीका बासिन्दाले सोमबार विधिवत् रुपमा गौरा देवी भित्र्याएका छन् । गौरा देवी भित्र्याएसँगै गाउँघर तथा बजारमा चहल पहल बढ्दै गएको छ । भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गर्ने गर्छन । यस पर्वमा महिलाहरु व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुराउस मिसाएर तामाका भाँडामा भिजाएर राख्ने गर्दछन । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । महिलाले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभमुहूर्तमा सामूहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन रहेको छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्रयाएर पूजा–अर्चना गरी विवाहित महिलाले दुवेधागो (महिलाले घाँटीमा बाँध्ने धागो) चढाउने गर्छन् ।
गौराष्टमीका दिन व्रत बसेर महिलाले बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन् । बेलुका अभिषेक गरेर दुवेधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको छ । त्यही दिन प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पूज्ने र निधारमा बिरुडा लगाइदिने चलन छ । सुदूरपश्चिमका जिल्लाका बासिन्दाले दसैँ भन्दा पनि बढी महत्वका साथ मनाउने गौराको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढाएको छ । गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । गौरा बिसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धुमारी आदि खेल खेलेर रमाउने चलन छ ।