Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

देउवा र मोदीले गरे अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन

Thursday, August 24, 2017 National Power

८ भदौ ,काठमाडौँ –  भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रक्सोल परवानीपुर र कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

दुई महत्वपूर्ण अन्तरदेशीय प्रसारण लाइनको आज भारतको राजधानी नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

आगामी हिउँदको विद्युत् मागलाई धान्न भारतबाट थप एक सय मेगावाट विद्युत् आयात हुने भएको छ । ती अन्तरदेशीय प्रसारण लाइनमार्फत थप ५०/५० मेगावाट विद्युत् आयात हुने छ । हैदरवाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले स्विच थिचेर ती प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको समयमा पनि ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरिएको थियो ।

ती दुवै आयोजनाको क्षमता १३२ केभी रहेको छ । नेपालको विद्युत् मागलाई सम्बोधन गर्ने लक्ष्यअनुसार सरकारले भारतसँग ती दुई अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात गर्ने सहमति यसअघि नै भइसकेको छ ।

आज उद्घाटन गरिएका दुईवटै प्रसारण लाइन गत माघमा नै निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । नेपालको विद्युत् मागलाई सम्बोधन गर्ने लक्ष्यअनुसार नै ती अन्तरदेशीय प्रसारण लाइनको आज संयुक्त रुपमा उद्घाटन गरिएको प्रधानमन्त्री देउवाको भनाइ छ ।

विद्यमान ३३ केभी प्रसारण लाइनबाट हाल १० मेगावाट विद्युत् आयात भइरहेको छ । नयाँ प्रसारण लाइनबाट थप ५० मेगावाट विद्युत् आयात गरिनेछ । भारतीय ठेकेदार मोहना इनर्जीले सो प्रसारण लाइन निर्माण गरेको हो । हाल भारतबाट नेपालले ३५० मेगावाट विद्युत् आयात गरिरहेको छ । ती प्रसारण लाइनबाट थप एक सय मेगावाट विद्युत् आयात भएपछि ४५० मेगावाट पुग्नेछ ।

प्राधिकरणले यसअघि प्रसारण लाइन क्षमताको अभावमा चाहे जति विद्युत् ल्याउन सकेको थिएन । रक्सोल–परवानीपुर र कुृशाहा–कटैया प्रसारण लाइन निर्माण सम्पन्न भए पनि विभिन्न प्राविधिक कारणले विद्युत् आयात हुन सकेको थिएन । ती प्रसारण लाइनबाट आयात हुने विद्युत्को मूल्य अन्य कम क्षमताको प्रसारण लाइनको भन्दा कम रहेको छ । केही समय पहिले विद्युत् आदान प्रदान समितिको बैठकबाट १३२ केभी क्षमताको प्रसारण लाइनबाट आयात हुने विद्युत्को मूल्य प्रतियुनिट रु ८.८८ (भारु ५.५०) हुने तय गरिएको थियो ।