२ भदौ, काठमाडौं – भूकम्पका कारण क्षतिग्रस्त काठमाडौंको हनुमानढोका दरवार र पाटनको देगु तलेजु मन्दिरको पुनर्निर्माणमा जापानले बिशेष चासो देखाएको छ ।
सिंहदरवारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ड.गोविन्दराज पोखरेलसँगको भेटमा नेपालका लागि जापानी राजदूत मासाचि ओगावाले ऐतिहासिक सम्पदाका रुपमा रहेका हनुमानढोका दरवार र पाटनको देगु तलेजु मन्दिरलाई तिव्रताका साथ पुनर्निर्माण गर्नेवारे छलफल गरेका हुन ।
राजदूत ओगावाले ती सम्पदा पुनर्निर्माणलाई तिव्रता दिन आवश्यक पर्ने बजेटलाई दु्रत प्रक्रियाबाट खर्च गर्नेवारे प्राधिकरणका सिइओ पोखरेलसँग जिज्ञासा राखेका थिए । भेटमा सिइओ पोखरेलले अर्थमन्त्रालयसँग आवश्यक समन्वय गरेर जापानले दिने भनिएको सहयोगलाई द्रुत प्रक्रियाबाट सम्पदा पुनर्निर्माणमा खर्चे गर्ने गरि आवश्यक कार्यविधि बनाउन सकिने जानकारी गराए। भेटमा राजदूत ओगावाले सिंहदरवारको पश्चिमी मोहडातर्फको भागको प्रवलीकरण तथा पुनर्निर्माणमा भइरहेको प्रगतिवारे चासो राख्दै आवश्यक परे आफूहरु पनि सहयोग गर्न इच्छुक रहेको बताए।