१ भदौ, कैलाली – सुदूरपश्चिममा पिंडालुको कलिलो पात, दूध र दही सगुनको रुपमा छर छिमेकीलाई बाँडेर ‘ओल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदैछ। साउन मसान्त र भदौ संक्रान्ति दुई दिन मनाइने यो चाडमा मान्यजन, इष्टमित्र, छर छिमेकीलाई सगुनका रुपमा पिंडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध, दही दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने परम्परा छ। ओल्के चाडका दिन विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण गरी लाउन, बाबर, माणा, निसौसे, गतानी, डुब्कालगायतका स्थानीय खानाका मीठो परिकार खुवाउने प्रचलन छ। ओल्के चाडमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रंगाई रमाइलो पनि गरिन्छ। यसरी पिँधेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भई खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको संक्रमणबाट बच्न सकिने जनविश्वास छ। रोगको संक्रमणबाट बच्न हातखुट्टा रंगाइने हुँदा यो चाडलाई शरीरबाट ‘लुतो फाल्ने’ चाडका रूपमा समेत लिइन्छ। सदियौँदेखि मनाइँदै आइएको यो चाडको महत्त्वबारे युवायुवती अनभिज्ञ रहेको भन्दै स्थानीय हरिहर जोशीले चिन्ता व्यक्त गरे।