३१ साउन, काठमाडौँ – संयुक्त विद्यार्थी संगठनले कूटनीतिक पहलबाट कोशी बाँधका ढोका तत्काल खोल्न सरकारसँग माग गरेको छ ।
छ विद्यार्थी संगठनको बैठकले बाढीपीडितलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन र कोशी बाँधका ढोका खोल्ने कुटनीतिक पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको अनेरास्ववियु अध्यक्ष नवीना लामाले बताइन् ।
यसैगरी बैठकले बाढीपीडितलाई राहतका लागि मृतकका परिवारलाई सरकारले दिने भनेको रु दुई लाख र घरविहीन भएका परिवारलाई रु १० लाख उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।
यस्तै बैठकले सांसद् र स्थानीय तहका जनप्रतिनिधिहरुले एक महिनाको तलब तथा राष्ट्रसेवक कर्मचारीबाट एक हप्ताको तलब नेपाल सरकारको राहत कोषमा उपलब्ध गराउन अपिल गर्ने निर्णय समेत गरेको छ । यसैगरी विद्यार्थी संगठनहरुतर्फबाट रु तीन लाख ५० हजारको राहत कोष निर्माण पनि गरिएको नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाहीले जानकारी दिए ।