Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

राहात र उद्धारमा ढिलाई किन ? : खनाल

Monday, August 14, 2017 National Power

३० साउन, सुर्खेत पहाडमा पहिरो र तराईमा बाढीले आक्रान्त पार्दासमेत सरकारले उद्धार तथा राहत वितरण कार्यमा ढिलासुस्ती गरेको आरोप नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले लगाउनुभएको छ ।

प्रेस चौतारी नेपाल शाखा सुर्खेतले आज वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले साठीभन्दा बढी नागरिकको मृत्यु, हजारौँ परिवार विस्थापित तथा प्रभावित हुँदासमेत सरकारले युद्धस्तरमा काम नगरेको बताउनुभयो ।

उहाँले नेपाल–भारत सीमा नदीमा भारतले बनाएको बाँधले तराई डुबानमा परेको बताउनुभयो । वर्षात् हुने क्रम जारी रहेकाले तत्काल सिमानामा बनाइएका बाँधका ढोका खोल्न भारत सरकारसँग संवाद थाल्न पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

यस्ता समस्या भविष्यमा आउन नदिन दीर्घकालीन योजना बनाउन भारतसँग नेपाल सरकारले कूटनीतिक पहल थाल्न आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

आगामी माघ ७ गतेसम्म बाँकी दुई चरणका निर्वाचन गरिसक्नुपर्ने बाध्यता भए पनि सरकार संवैधानिक संकट निम्त्याउने खेलमा लागेको आरोप उहाँको भनाइ थियो ।

संविधान संशोधन गर्नै नहुने पक्षमा एमाले नरहेको स्पष्ट पार्दै नेता खनालले संविधान कार्यान्वयनभन्दा सरकारले संशोधनलाई प्रमुख एजेण्डा बनाएर समय खर्चिरहेको बताउनुभयो ।

एक्काइसौँ दिनदेखि आमरण अनशनमा बस्नुभएका डा गोविन्द केसीका माग सम्बोधन नगरिनु दुःखद भएको टिप्पणी गर्दै उहाँले सरकारलाई तत्काल केसीका मागप्रति संवेदनशील भएर वार्ता गर्न पनि आग्रह गर्नुभयोे ।

-NPN