३० साउन, काठमाडौं – सरकारले बाढी प्रभावितलाई राहत तथा उद्धारका लागि प्रयास भइरहेको जनाएको छ । बाढी प्रभावित जिल्लामा हेलिकप्टर मार्फत खाद्यान्न पठाउने तयारी भएको छ । मौसम धुम्मिएकाले सुधार हुनासाथ सेनाको हेलिकोप्टरबाट खाद्यान्न पठाइने गृह मन्त्रालयले जनाएको छ ।
खाद्यान्न ढुवानीका लागि हेटौंडामा सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । खाद्यान्न समेत लोड भइसकेको छ । मौसम खुल्नासाथ उडान थाल्ने मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।
यस्तै स्थलगत जान सकिने ठाउँमा स्थलमार्ग हुँदैपनि खाद्य सामग्री पुर्याउन थालिएको उनले जानकारी दिए । बाढी पहिरोका कारण कम्तिमा पनि ६६ जनाको ज्यान गएको पुष्टि भएको छ । ५३ जना बेपत्ता भएका छन् ।यसैबिच प्रधाननमन्त्री शेरबहादुर देउवासहित उच्च पदाधिकारीको टोली पनि सोमबार बाढी प्रभावित क्षेत्रको निरीक्षणमा जाँदैछ । मौसम खुल्नासाथ प्रभावित क्षेत्रको निरीक्षणमा निस्कने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।