Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

वर्षाका कारण प्राधिकरणको संरचनामा अर्बौंको क्षति भएको छ : घिसिङ

Sunday, August 13, 2017 National Power

२९ साउन, काठमाडौँ – अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।

प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ती संरचनाको क्षति करिब रु दुई अर्बको हाराहारीमा हुन सक्ने देखिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज ऊर्जा मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा भन्नुभयो, “प्राधिकरणको संरचनामा अर्बौंको क्षति भएको छ । हामी अनुसन्धानकै क्रममा छौ । थप क्षतिको विवरण भने अध्ययनपछि नै थाहा हुनेछ ।”

अविरल वर्षाका कारण पूर्वी तथा मध्य तराईको सम्पूर्ण विद्युत् सेवा कटौती हुन पुगेको छ । यस्तै भरतपुर सबस्टेसनअन्तर्गतको सेवासमेत कटौती हुन पुगेको प्राधिकरणले जनाएको छ । दुर्घटना कम होस् भन्नेतर्फ विशेष सावधानी अपनाएर विद्युत् लाइनपूर्ण रुपमा कटौती गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

दुहवी सबस्टेसन पानीमा, दर्जनौँ टावर समस्यामा

बाढी तथा पानी जम्दा दुहवी सबस्टेसन, दमक सबस्टेसन, अनारमनी सबस्टेसन पूर्ण रुपमा डुबेको छ । सबस्टेसनका सम्पूर्ण उपकरण तथा सञ्चालन प्रणालीसमेत समस्या आएको छ । यही साउन २७ गते बिहानदेखि ती सबस्टेसन पूर्णरुपमा बन्द भएको प्राधिकरणले जानकारी दिएको छ ।

यस्तै, दमक गोदाक खण्डको १३२ केभी प्रसारण लाइनअन्तर्गत चुलाचुलीमा रहेको टावर नं १७ बाढीको कारण ढलेको छ । हेटौडा सबस्टेसन अन्तर्गतको हेटौँडा सिमेन्ट नजिक रहेको ६६ केभी टावर पल्टिन लागेकाले उक्त औद्योगिक फिडर पूर्ण रुपमा बन्द रहेको छ । नेपाली सेनाको सहयोगमा उक्त टावरको सुरक्षाको उपाय अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

चन्द्रनिगाहापुर पथलैया १३२ केभी, ढल्केबर चपुर १३२ केभी, बालाजु त्रिशूली र रक्सौल परवानीपुर १३२ केभीको भुलहीमा बाढीले दुईवटा टावरको फेदमा समस्या पैदा गरेको छ ।

तराईका सम्पूर्ण फिडरमा समस्या

प्राधिकरणका अनुसार लहान सबस्टेसनअन्तर्गत रुपनी र स्थानीय फिडरबाहेक सम्पूर्ण ३३ केभी तथा ११ केभी बन्द रहेको छ । सो फिडरको ३६ मेगावाट मागमध्ये दुई मेगावाट मात्रै खपत भएको छ ।

ढल्केबर सबस्टेसनअन्तर्गत जनकपुर फिडरबाहेक सम्पूर्ण फिडर बन्द रहेका कारण एक मेगावाट मात्रै विद्युत् खपत हुन सकेको छ । सो फिडरमा कुल ३५ मेगावाट विद्युत् माग हुने गरेको थियो ।

चपुर सबस्टेसनअन्तर्गत हरसाहा ३३ केभी तथा स्थानीय फिडर चार्ज भएको छ । गौर, हरिपुर तथा निजगढ ३३ केभी प्रसारण लाइनमा समस्या पैदा भएका कारण ३२ मेगावाट माग हुने स्थानमा १।५ मेगावाट मात्रै खपत भएको छ ।

हरिपुर र गौर नजिकको फिडरमा एक फिटभन्दा बढी पानी जमेको र पोल बगाएको छ । परवानीपुर सबस्टेसन मातहतको गण्डक र हिमाल फिडरमा समस्या आएको प्राधिकरणले जनाएको छ । सिमरा सबस्टेसनको स्थानीय फिडरमा एक मिटरभन्दा बढी पानी जमेको छ ।

हेटौडा सबस्टेसन मातहतको स्थानीय फिडरमा दुई मेगावाट मात्रै चालु रहेको छ । सो फिडरमा १२ मेगावाट विद्युत् खपत हुने गरेको थियो । भरतपुर सबस्टेसन र पर्सा सबस्टेसनमा पूर्ण रुपमा जलमग्न रहेको, भरतपुर अन्तर्गतको गैडाकोट फिडरबाट ४० मेगावाट विद्युत् खपत हुने गरेकामा दुई मेगावाट मात्रै सञ्चालनमा रहेको छ ।

प्राधिकरणका अनुसार शिवपुर सबस्टेसनअन्तर्गत ११ केभी र बहादुरगञ्ज फिडर बन्द रहेको छ । उता कोहलपुर सबस्टेसनअन्तर्गत राझा फिडर बन्द हुन पुगेको छ । सो फिडरमा कुल ४० मेगावाट माग रहेकोमा दुई मेगावाट मात्रै प्रयोग भइरहेको छ ।

अधिकांश आयोजना ट्रिपिङमा

कार्यकारी निर्देशक घिसिङले मुलुकका अधिकांश आयोजना ट्रिपिङमा रहेका छन् । कालीगण्डकी ‘ए’ १४४ मेगावाट क्षमतामा नै चलाउन सकिएको छैन । सो आयोजनाबाट हाल १०० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । आयोजनाको कुल क्षमतामध्ये न्यूनतम ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भइरहेको छ ।

मध्य–मस्र्याङदी जलविद्युत् आयोजनाले २५ मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेको छ । सो आयोजनाबाट ७० मेगावाट विद्युत् उत्पादन हुन्छ । मस्र्याङदी जलविद्युत् आयोजनाबाट ३२ मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेको छ ।

बालाजु त्रिशूली ६६ केभी सर्किट ट्रिपिङ भएकाले चिलिमे र त्रिशूली सात सात मेगावाट र देवीघाट पाँच मेगावाट मात्र उत्पादन गरिएको छ । गण्डक विद्युत् बाढीका कारणले बन्द अवस्थामा रहेको छ ।

भारतबाट आउने विद्युत् बन्दप्रायः

भारतबाट आयात हुने विद्युत् लगभग पूर्ण अवस्थामा बन्द हुन पुगेको छ । ढल्केबर– मुजफरपुरबाट हाल सात मेगावाटदेखि ३३ मेगावाट मात्रै विद्युत् आयात भइरहेको छ । सो प्रसारण लाइनबाट १४५ मेगावाट विद्युत् आयात हुने गरेको छ ।

यस्तै, विहार र टनकपुरबाट हुने आयात हुने विद्युतसमेत बन्द भएको छ । ढल्केबरबाट आयात हुने विद्युत् लिए पनि नलिए पनि प्राधिकरणले महसुल भने तिर्नुपर्नेछ । एक दिन विद्युत् आयात रोकिँदा रु एक करोड २० लाखभन्दा बढी प्राधिकरणलाई घाटा हुन्छ । काठमाडौँका केही फिडरमा समेत समस्या पैदा भएको छ ।

  • NPN