२८ साउन, मोरङ – गएरातिदेखि परेको अबिरल वर्षाको कारण मोरङका विभिन्न खोलामा आएको बाढी गाउँ पस्दा सयौं घर डुबानमा परेका छन् । विराटनगरका धेरै प्रभावित ठाउँ मध्येको पोखरियामा सिँगिया खोला गाउँ पसेको छ । वर्षाको कारण अधिकांश क्षेत्रको जनजीवन प्रभावित मात्र भएको छैन धेरै ठाउँका विस्थापित भएका छन् । विराटनगरको कोशी राजमार्ग पश्चिमको क्षेत्र डुबानमा परेको छ । विराटनगरमा रहेको नोबेल मेडिकल कलेज पनि डुबानमा परेको छ । विराटनगर–१ पोखरीयाका ३५ घर विस्थापित भएका छन् । वर्षाले विराटनगर महानगरपालिका ४, ५, ६, ११ र १२ नम्बर वडामा अन्दाजी ६ सय घर डुबानमा परेको छ । पीडित परिवारलाई आफन्त तथा छिमेकीको घरमा सार्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यसैगरी मोरङको रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर रतुवामाई नगरपालिका–५ प्रहरी चौकी गोबिन्दपुरमा पानी पसेर डुबान भएको छ ।